लन्डन । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालका तर्फबाट सहभागी हुन लन्डन आइपुगेका नेपालका परराष्ट्रमन्त्री एनपी साउदसंग भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि बीच भेटवार्ता भएको छ।
गोर्खा प्रतिनिधिले शुक्रबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा भेटेका हुन् । भेटवार्ता करिब आधा घण्टा भएको गोर्खा सत्याग्रह सघंर्ष समितिका सयोंजक कृष्ण बहादुर राईले लन्डन नेपाल न्युज लाई बताए ।भेटमा गोर्खाहरुले बेलायत नेपाल जारी वार्ता छिटो टुंगोमा पुरयाउन नेपाल सरकारलाई आग्रह गरेका थिए ।
वार्तामा सहभागी गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भूतपूर्व गोर्खाहरुलाई भएको भेदभाव अन्त्य गरी समान पेन्सन दिइनुपर्ने आफ्नो माग रहेको स्मरण गराएका थिए।
भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच सरकारस्तरीय (जिटुजी) वार्ता तथा अन्य विविध विषयमा रहेर छलफल भएको गोर्खा सत्याग्रह सघंर्ष समितिका सयोंजक कृष्ण बहादुर राईले लन्डन नेपाल न्युज संग भने ।
प्रतिउत्तरमा मन्त्री साउदले आफू गोर्खा मुद्दाबारे जानकार रहेको र लन्डनस्थित नेपाली दूतावासबाट ‘बिप्रिङ’ भइरहेको जनाउंदै यसलाई समाधान गर्न नेपाल सरकारले गम्भीर रुपमा लिएको बताएका थिए ।
राईले चरण चरणमा विषयगत वार्तापछि आउंदो सेप्टेम्बरमा हुने मन्त्रीस्तरिय वार्तामा मन्त्री साउदलाई पनि सहभागिता जनाउन आग्रह गरेका थिए ।राईले बेलायत नेपाल वार्तामा राजदूत ज्ञानचन्द्र आचार्यले स्पष्ट कुरा राखेको भन्दै प्रशंसासहित धन्यवाद समेत दिएका थिए ।
वार्तामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले जीटुजी वार्ता विभिन्न कारणले ढिलाइ भएको स्वीकार्दै अब बेलायतले समान पेन्सन मुद्दा एजेण्डामा राखेकाले समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
यसै गरी गेसोका कार्यवहाक सभापति तथा वार्ता समितिका सदस्य धर्म तामाङले मन्त्रीबाट सकारात्मक जवाफ पाएको बताए । ‘उहांले गोर्खा समस्या राष्ट्रिय मुद्दा भएकाले हामीले यसलाई गम्भीरताका साथ हेरेका छौं भन्नुभएको छ’, तामाङले भने ।
उक्त वार्तामा कृष्णबहादुर राई, मेजर रि. जुदबहादुर गुरुङ, मेजर रि. उदयबहादुर गुरुङ, धर्म तामाङ, दिपक मास्के, राष्ट्र राई, यम गुरुङ र केशबहादुर गुरुङ सहभागी थिए ।






