लन्डन । बेलायतको मेडस्टोन काउन्सिलका काउन्सिलर दिनेश खड्का दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
बिहीबार (४ मे) भएको चुनावमा लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट उनी आगामी चार वर्षको लागि निर्वाचित भएका हुन् ।
दिनेश खड्काले ६४१ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका डेभिड कोलियरले ४०१ मत पाएका थिए। सत्तारुढ कन्जरभेटिभ पार्टीले मेडस्टोन बरोमा आफ्नो बहुमत गुमाएको छ।
मेडस्टोनस्थित केन्टको काउन्टी टाउन हाइस्ट्रिट वार्डका उम्मेदवार खड्काले पहिलो चार वर्षे कार्यकालमा स्थानीयसंग निकट रहेर काम गरेको बताए । ‘मैले काउन्सिलरका रुपमा स्थानीय फोहोर संकलन, पार्क र बगैंचा, लिजर तथा हाउजिङ लगायत स्थानीय नीति निर्माण बहसमा धेरैपटक भाग लिएं । स्थानीयसंग नजिक भएर काम गरेका कारणले पनि मलाई स्थानीय मतदाताले मलाई पुनः विजयी बनाएको मैले ठानेको छु,’ उनले भने ।
स्थानीय समुदायका चासो र समस्या सम्बोधन गर्नुका साथै आफ्नो दोश्रो कार्यकालमा स्थानीय पूर्वाधार, सडक तथा फुटपाथ सुधार, पार्क र खेल मैदान निर्माण प्राथमिकता रहेको काउन्सिलर खड्काले बताए।
काउन्टी काउन्सिलर तथा मेडस्टोनस्थित लिब डेम पार्टीका कार्यकारी सदस्य इयान चिट्टनडेनले दिनेश खड्काले स्थानीय समुदायको हितका लागि धेरै परिश्रम गरेको बताए । कडा परिश्रमी, भरपर्दो र स्थनीय जनतामाझ लोकप्रिय भएकाले दोश्रो पटक पनि उनी निर्वाचित भएको इयानको ठम्याइ छ।
दाङ, सतबरियामा जन्मिएका खड्का सन् २००१ मा विद्यार्थीका रुपमा बेलायत आएका थिए । खाद्य वैज्ञानिक समेत रहेका खड्का आफ्नो परिवारका साथ विगत २१ वर्षदेखि मेडस्टोनमा बसोबास गर्छन् ।






