यूकेका कांग्रेसले पनि क्रियाशिल सदस्यता बुझाए

लण्डन । नेपाली कांग्रेसको महाधिवेसन नजिकिदै गर्दा बेलायतस्थित कांग्रेसका दुई वटै गुटले छुट्टा छुट्टै क्रियाशिल सदस्यता बुझाएका छन । लोक गुरुंग अध्यक्ष रहेको समुहबाट ५ सय २८ र चेतनाथ खनाल अध्यक्ष रहेको समुहबाट ५ सय ५० बढीको सदस्यता बुझाइएको हो । कांग्रेसको प्रचलित विधानअनुरुप बेलायतमा दुई पक्षबीचमा कुल ७ जना प्रतिनिधी मिल्ने सम्भावना छ । nepali-Congress-flag_20110409091641[1]

गुरुंग पक्षबाट उपाध्यक्ष युवराज गुरुंग तथा खनाल पक्षबाट अध्यक्ष स्वयमले दुई साताअघि सदस्यहरुको नामावाली र सदस्यता शुल्क बुझाएका हुन । दुवै पक्षले झण्डै १२ लाख रुपियाका दरले सदस्यता शुल्क बुझाएका छन । सदस्यहरुको नाम र शुल्क बुझाएको भएपनि उनीहरुले सदस्यता फारम भरेर बुझाउन बांकी छ । अबको दुई हप्ताभित्रमा सदस्यता फारम पनि भरेर बुझाउने र त्यसपछि केन्द्रबाट सदस्यहरुको अन्तीम नामवाली प्राप्त हुने गुरुंग पक्षीय महामन्त्री शिव तिमल्सिनाले जानकारी दिए । काठमाडौंमा छुट्टा छुट्टै सदस्यता बुझाएका भएपनि दुवै पक्षले संगै गएर बुझाएका थिए । युवराजजी र म संगसंगै थियौं, खनालले सुनाए, सदस्यता र शुल्क बुझाएपछि हामीलाई समग्रमा एक हजार फारम मिलेका थिए, बांडेर आधा आधा लियौं । फरक फरक सदस्यता बुझाएका दुई पक्षले महाधिवेसन प्रतिनिधी भने छुट्टा छुट्टै पाउने छैनन । समग्रमा पाएका कोटा दुई पक्षबीच कसरी बांडने भन्नेबारे खनाल पक्षका अध्यक्ष खनालले भन्छन, त्यसमा समस्या हुंदैन, केन्द्रकै रोहबरमा कुरा मिलाउंछौं । प्रवासका विवाद मिलाउन नरहरि आचार्यको नेतृत्वमा गठित समितिले पनि समन्वय गरिदिने उनको अपेक्षा छ । अर्का पक्षका महामन्त्री तिमल्सिनाले महधिवेसन प्रतिनिधीको संख्या यकिन भएपछि सदस्यहरुमध्येबाटै प्रजातान्त्रिक विधिमा प्रतिनिधी चयन गर्ने बताए । कांग्रेसको तेहैं महाधिवेसन भदौको अन्तीम साता काठमाडौंमा हुंदैछ ।