दाङमा सासू-ससुराले नै गरिदिए बुहारीको कन्यादान

दाङ । नेपाली समाजमा अझै पनि छोरी र बुहारीबीच विभेद गर्ने सासू-ससुरा धेरै छन् ।

जन्मघर छाडेर कर्मघर पुगेकी बुहारीलाई सासू–ससुरासहित घर परिवारका सदस्यले दाइजो नल्याएको, सन्तान नभएको, छोरा नपाएको जस्ता विभिन्न लान्छना लगाउँदै यातना दिएका घटना पनि बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् ।

तर, यहि समाजमा पराइ घरबाट आएकी बुहारीलाई पनि आफ्नी छोरीलाई जस्तै माया र अवसर प्रदान गर्ने सासू-ससुरा पनि छन् । त्यस्तै मध्येका एक हुन्- दाङ तुलसीपुर- ६ का शिव श्रेष्ठ र बिना श्रेष्ठ । तुलसीपुर उपमहानगरपालिका ६ शिखर कोलोनी निवासी श्रेष्ठ दम्पतीले दुई दिनअघि बुहारी (छोराकी पत्नी) आरतीलाई छोरीलाई जस्तै घरैबाट विवाह गरेर अन्माएका छन् ।

श्रेष्ठ दम्पतिले बुहारी आरतीको नवलपरासीको बर्दघाट नगरपालिका ५ पालडाँडा निवासी चन्दनध्वज केसीसँग विवाह गरिदिएका हुन् । उनीहरुले बुहारी आरतीलाई आफ्नै छोरीलाई जस्तै कन्यादान गरेर घरबाट अन्माएर पठाएका छन् ।

श्रेष्ठ दम्पतीका छोरा सुविन श्रेष्ठको ६ वर्षअघि ३३ वर्षको उमेरमा निधन भएको थियो । भर्खरै विवाह गरेर पराइ घर पुगेकी आरती त्यतिबेला २३ वर्षकी थिइन् । कलिलो उमेरमै पति वियोगमा परेकी आरती विगत ६ वर्षदेखि सासू-ससुरासँगै बस्दै आएकी थिइन् ।

छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई श्रेष्ठ दम्पतिले छोरीको रूपमा लालनपालन र पठनपाठनमा सहयोग गर्दै आएका थिए । सासू-ससुरासँगै बसेर ‘स्टाफ नर्स’ को पढाई पूरा गरेपछि आरतीको विवाह भएको हो ।

छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई छोरीको रूपमा स्वीकारेर आफ्नै घरबाट अन्माएपछि समाजमा अहिले श्रेष्ठ दम्पतिको प्रशंसा हुन थालेको छ ।

‘आरति हाम्री बुहारी होइनन्, छोरी जस्तै थिइन्,’ बुहारीको कन्यादनपछि शिव श्रेष्ठले भने, ‘उनको उज्वल भविष्यको लागि हामीले उनको पुनः विवाह गरिदिएका हौँ । आरतीको भविष्य सुन्दर होस् भन्ने हाम्रो कामना छ ।’

बुहारीलाई पनि छोरीलाई जस्तैगरी पठनपाठनसहित विवाह गरिदिने श्रेष्ठ दम्पतिको यतिबेला तुलसीपुरमा प्रशंसा भइरहेको छ ।