लण्डन, १ असार । बेलायस्थित केन्ट आसफोर्डको इस्टवेल म्यानर पार्कमा सोमबार भएको गोर्खा दौडमा तिलविक्रम सम्बाहाम्फे एक घन्टा ११ मिनेटमा पूरा गरी प्रथम हुनु भएको छ । त्यसै गरी खगेन्द्र लिम्बू द्वितीय हुनुभएको छ । महिलातर्फ भने निशा गुरुङ प्रथम र हिमा मगर द्वितीय हुनुभएको छ । बेलायती सेनामा सेवारत रहँदा १३ नेपालीले प्राप्त गरेको भिक्टोरिया क्रस बहादुरीको सम्मान र सम्झनाका लागि सो दौड आयोजना हुने गर्छ ।
गोर्खा पिस फाउन्डेसनको आयोजनामा सम्पन्न दौड तथा पैदल यात्रामा गोर्खाली र स्थानीय बेलायती गरी झन्डै पाँच सय सहभागी थिए । उक्त दौड कार्यक्रमबाट उठेको र यसअघि सङ्कलित २० हजार पाउन्ड सङ्कलन सबै नेपालका भूकम्पपीडितलाई राहतका लागि पठाइने समाजसेवी विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । गोर्खालीले बेलायती सेनामा सेवा गरेको दुई सय वर्ष पुगेका अवसरमा फाउन्डेसनका अध्यक्ष ब्राइन स्टान्लीले केक काटी सो दौडको उद्घाटन गर्नुभएको थियो ।
गोर्खा दौडमा सम्बाहाम्फे प्रथम






