लण्डन । चितवन एड ट्रष्ट (क्याट युके)ले गृह जिल्लाको एक विद्यालयमा अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
भरतपुर महानगरपालिका २१ नं वडा कार्यालयको सिफारिस बमोजिम संस्थाले उक्त वडामा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीहरुको सहयोगार्थ १ लाख रुपैयाँ बराबरको अक्षय कोष निर्माण गर्न लागेको संस्था महासचिव रमेश श्रेष्ठले बताए ।
उपाध्यक्ष रघु दाहालको सयोंजनमा उक्त सहयोग तयारी गरिएको हो ।संस्थाको जनवरी २२ तारिख ग्रान्थम स्थित ताजमहल रेष्टुरेण्टको सभाहलमा सम्पन्न बैठकले उपाध्यक्ष दाहालकै संयोजनमा अक्षय कोष स्थापना गर्ने निणर्य गरेको हो।बैठकमा सबैलाई स्वादिष्ट खानाको प्रायोजन गरेका दाहाललाई उपस्थित सबैले धन्यबाद दिए ।

क्याट युके अध्यक्ष रितेषराज पाण्डेले नेपालको विभिन्न क्षेत्रमा संस्थाले सहयोग गर्दै आईरहेको स्मरण गर्दै शैक्षिक क्षेत्रको विकासका लागि गृह जिल्ला स्थित पार्वतीपुरमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयबाट सहयोग सुरु भएको बताए ।प्रवासमा रहेर पनि गाउँको विकास र सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग गर्दैै आइरहेकामा विद्यालयको पूर्वाधार निर्माणमा सघाउने उद्देश्यले सो सहयोग गरिएको अध्यक्ष पाण्डेले लन्डन नेपाल न्युजलाई बताए।
उक्त विद्यालयले वडा मार्फत सहयोगका लागि क्याट युकेलाई पत्राचार गरेको हो ।






