झरना थापा, नायिका प्युठानमा जन्मिएकी, दाङमा हुर्किएकी र राजधानीमा अध्ययन गरेकी झरना राजभण्डारी कुनै बेला बैंकमा जागिर खाने सपना बुन्थिन् । बैंसालु उमेरका खुड्किलाहरु चढ्ने क्रममा झरनाले एउटा सामान्य जीवन जिउने कल्पना गरिन् । बागबजारको पद्य्मकन्या क्याम्पसमा जब कलेजका दिनहरु सुरु भए, उनले डान्सलाई आफ्नो अध्ययनको विषय बनाइन् । उनी कलेजमा डान्स र म्युजिकसम्बन्धी सबैजसो कार्यक्रममा अघि सर्थिन् । नृत्यमा प्रथम स्थान हात पारेपछि तत्कालीन राजा वीरेन्द्रबाट सम्मान प्राप्त भयो । एकचोटी होइन, तीनचोटि ।
राजा वीरेन्द्रले ‘स्याबास’ भनेको त्यो पल उनले बारम्बार याद गर्छिन् । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा एवं स्वर्गीय गिरिजाप्रसाद कोइरालाको हातबाट सम्मानित हुँदा उनमा अझ आत्मविश्वास थपियो । सबै तिर उनको नृत्यको प्रशंसा हुन थाल्यो । चलचित्रमा अभिनय गर्न सबैले सल्लाह दिन थाले । नभन्दै उनलाई चलचित्र दाइजोमा काम गर्ने अफर पनि आयो । १७ वर्षे उमेरमा पाइदा टेक्दा सुनिलकुमार थापासँग विवाह-बन्धनमा बाँधिएपछि झरना राजभण्डारीको पहिचान फेरियो । उनी झरना थापा बनिन् । धर्मसंकट, फेसबुक लगायत दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी झरनासंग गरिएको कुराकानी :
कसरी बित्दैछन् दिनहरु ?
केही म्युजिक भिडियोमा अभिनय गरिरहेकी छु । त्यस बाहेक नो स्मोकिङ भन्ने चलचित्रमा पनि रोल पाएकी छु । अहिले यत्तिमै सिमित छु ।
त्यस बाहेक अरु योजना के छ ?
चलचित्र क्षेत्रमा काम गरेको १७, १८ वर्ष भइसक्यो । अब त आफैले फिल्म निर्देशन गर्नुपर्छ भन्ने लागेको छ । आफूले जानेको, बुझेको कुराहरु लागु गर्नुपर्यो । म यतिबेला कथाहरु खोज्दैछु । राम्रो कथा पाइयो भने छिट्टै नै म काम सुरु गरिहाल्न मन छ ।
कस्तो खालको कथाहरुको खोजीमा हुनुहुन्छ ?
प्रेम कथाहरु । जुन अहिलेका युवा पुस्तालाई तान्ने खालको होस् । मन छुने खालको होस् ।
तपाइ विदेश घुमिरहने नायिकामा पर्नुहुन्छ । सबैभन्दा कुन देश मनपर्यो ?
हल्याण्ड र इटली ।
यि देशहरुले के बिशेषता बोकेका छन् ?
हल्याण्डमा एकदम स्वतन्त्रता छ । हावामा पनि गाँजाको बास्ना आउँने खालको । त्यहाँ बैधानिक रुपमा यौन ब्यबसाय सञ्चालन गर्न छुट रहेछ । बाटो हिंड्दै गर्दा सिसाभित्र सजिएर बसेका सुन्दर युवतिहरु देखिए । कम्ति लोभ लाग्दा थिएनन् । त्यस्तै इटालिमा अझैंपनि सयौं वर्ष अगाडीका घरहरु हेर्न सकिन्छ । कैयौं ऐतिहासिक ठाउँहरु अबलोकन गर्न सकिन्छ । यि बाहेक मन परेका अरु कैयौं ठाउँहरु छन् ।
जस्तै ?
पेरिसको इफेल टावर । म पहिले पहिले सानो छँदा तस्विरमा मात्र हेरिरहन्थें । एकदम मनपथ्र्यो । केही महिना अघि प्रत्यक्ष त्यही पुगियो । एकदम एक्साइटेड भएँ । रातीको समय थियो । झिलिमिली देखिन्थ्यो चारैतिर । फेरी त्यो ठाउँ जान टिकट लिएर पनि २, ३ घण्टा लाइन बस्नुपर्ने । तर रमाइलो चाही एकदमै हुने ।
खानाका परिकारहरु के के रुचाउनुभयो ?
बेल्जियमको प|mेन्च प|mाइ र इटालीको लजानियाँ मेरो जिब्रोमा झुन्डिएको छ ।
नेपालीहरुसँग भेट्दा कस्तो लाग्यो ? ब्यबहार कस्तो पाइयो ?
एकदमै माया गर्नुहुन्छ । स्वागत, सत्कार राम्रै पाइयो । तर एउटा नरमाइलो कुरा एक आपसमा बिभाजित छन् । राजनितिक दल, संस्था र थरीथरीका समाजका नाममा बिभाजित भएको देख्दा दुख लाग्छ । एउटाले आयोजना गरेको कार्यक्रममा अर्को नआइदिने समस्या छ ।
विदेशमा बस्दा कुन कुरा एकदमै मिस हुन्छ ?
घर, परिवार । आमा, बुबा, श्रीमान् र आफन्तहरु नै मिस गर्छु ।
धेरैजसो कलाकारहरु भविष्यको खोजी गर्दै विदेशमै डेरा जमाइसके । तपाइलाइ पनि उतै बसौं लागेन ?
विदेशका हावापानी, त्यहाँको ब्यबस्था राम्रो छ । तर आफ्नो घर र ओछ्यान नै सबैभन्दा प्यारो लाग्दो रहेछ । उतै बस्ने रहर पलाएन । गाउ, समाज छाड्नै नसकिने रहेछ । मलाइ टाढा गएर एक्लो महशुष गर्नु छैन । खाए, नखाएको, लाए, नलाएको कसले ख्याल गर्छ त्यहाँ ? फेरी जीवन पनि एकदमै ब्यस्ततामा बित्छ, मेसिन जस्तै लाग्ने । बरु मेरा लागी स्वदेश नै प्यारो छ ।
विदेश जाँदा कुन चिज किन्न मन लाग्छ ?
मलाइ त लुगा र पर्फयुम किन्न एकदमन मनपर्छ । मिस डियोर र अर्मानि मेरो मनपर्ने ब्राण्ड हुन् । पछिल्लो समय मैले बेल्जियमबाट ८० हजार रुपैंयाँ खर्चेर आइफोन फाइभ किनें ।
अन्त्यमा, केही भन्नु छ ?
नेपाली चलचित्र हेरिदिनुहोस् । हामीलाई सुझाब र सल्लाहको खाँचो सधै हुनेछ ।






