पोखरा समाज अस्ट्रेलियाद्धारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन

सिड्नी । पोखरा समाज अस्ट्रेलियाले यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।समाजले सिड्नीको रकडेलमा १७ जनवरी मगंलबार साँझ दिप प्रज्वलन गरेको हो ।

पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष तारा गुरुङले दिप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा पोखरा समाज अस्ट्रेलियाका पूर्व महासचिव समित केसी र दिपक पहारीले मन्तव्य व्यक्त गर्दै विमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष हिउपति गुरुङ, एनआरएनए अस्ट्रेलियाका पदाधिकारीहरु, समाजका प्रतिनिधिहरु, विभिन्न सघंसंस्थाका प्रतिनिधिहरु तथा सिड्नी वरिपरि रहेका दिग्गज एवम् प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रकाश सुवेदीले गरेका थिए यस्तै अष्ट्रेलियाका अन्य ठाउँ हरुमा पनि  यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा मगंलबार साँझ दिप प्रज्वलन गरिएको छ ।

दुर्घटनामा परेका ७२ जना मध्ये ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ । गोताखोर परिचालन गरेर शवको खोजी कार्य भईरहेको छ । सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डिएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ । तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ । अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ ।

सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ ।