लन्डन। हिमालयन सिद्धमहयोग परिवार यूके युरोपको आयोजनामा साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित राधाकृष्ण मन्दिरमा विवाह पञ्चमीको पूर्वसन्ध्यामा सीता- राम विवाह कार्यक्रम हुने भएको छ।२७ नोबम्बेर आइतबार दिउँसो विविध धार्मिक कार्यक्रम सहित सीता-राम विवाह गराउन लागिएको हो।
लन्डन नेपाल न्युज संग बोल्दै हिमालयन सिद्धमहयोग परिवार यूके युरोपका अध्यक्ष गोबिन्द घिमिरेले कार्यक्रममा सीताराम झाँकी तथा लीला प्रदर्शनी, भजन किर्तन लगायत कार्यक्रम पनि रहने तथा प्रथम नेपाली महिला’रामचरितमानस’ वाचिका तथा श्री जगतगुरु महायोगी सिद्धबाबाकी कृपापात्र चन्द्रकला सखीले विशेष प्रवचन दिने भएकी छन् ।
बेलायतका लागि नेपाली राजदूत, स्थानीय ग्रीनवीच बरोका मेयरसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई पनि कार्यक्रमको अतिथिका रुपमा निम्त्याइएको छ।
प्लमस्टिडको ब्यानकबर्न रोडस्थित राधाकृष्ण मन्दिरमा दिउँसो साढे २ देखि साढे ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागिताका लागि हिमालयन सिद्धमहयोग परिवार यूके युरोपका महासचिव उदय लम्सालले सबैलाई आव्हान गरेका छन्।






