नेपाल फेस्टिबल सिड्नी-२०२२ को तैयारी अन्तिम चरणमा : सिड्नी बन्दैछ नेपालमय

सिड्नी । अस्ट्रेलियामा सिगों नेपाललाई झल्काउने नेपाल फेस्टिबल सिड्नी-२०२२ को तैयारी अन्तिम चरणमा पुगेको छ । आगामी नोभेम्बर १९ तारिख शनिवारका दिन बरुड पार्कमा आयोजना गरिएको फेस्टिबलको सम्पूर्ण तैयारी पुरा भईसकेको आयोजक गैर आवासीय नेपाली सघं (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषदले जनाएको छ ।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाली विविधता र नेपाली मौलिक पन बोकेको नेपाली मेला अन्तर्गत यस वर्षको सम्पूर्ण तैयारी पुरा भएको र अब विभिन्न राज्य तथा विभिन्न क्षेत्रबाट आउने अतिथिहरुको स्वागतका लागि आफुहरु आतुर रहेको एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

नेपाल फेस्टिबल सिड्नीको २०२२ को अहिलेसम्म विभिन्न चरणका तैयारीका कामहरु सक्काएर अहिले अन्तिम चरणमा पुगेको र अन्तिम चरणमा अतिथिहरुको स्वागतका लागि आफ्नो टिम तैयारी अवस्थामा रहेको उनले बताए । कार्यक्रमको पूर्व सन्ध्यामा आज बेलुकी २ बजे अन्तिम पत्रकार सम्मेलन र बेलुकी ६ बजे गाला डिनर समेत आयोजना गरिएको छ ।

गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाको आयोजनामा हरेक २ वर्षमा आयोजना गर्ने कार्यक्रम सिड्नीबाट सुरु हुँदै अन्य राज्यमा पनि हुँदै आएको छ । सन् २००६ मा सिड्नीबाट सुरु भएको यो कार्यक्रम हाल अन्य राज्यहरुमा पनि २/२ वर्षमै आयोजना हुँदै आएको छ ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया,क्यानवेरा स्थित नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयको सयुंक्त सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, नेपाली मौलिक खानालाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवद्र्धन गर्ने र सिगों नेपाललाई अस्ट्रेलियामा देखाउने उद्धेश्य सहित हुँदै आएको कार्यक्रम यस वर्ष पनि भव्य बन्ने उनले बताए ।

फेस्टिबलमा परेड, नेपाल हाउस, नेपाली मौलिक कला संस्कृति, गीतसंगीत, नृत्य, खानाका परिकार, हस्तकलाका सामान र नेपालीको व्यवसायसम्बन्धी जानकारी सहित अन्य विभिन्न नेपालका मौलिक पहिचानहरुलाई समेटिने छ । त्यस्तै फेस्टिबलमा चर्चित नेपाली लोक दोहोरी गायक प्रकाश सपुत, गायक दिपक बज्राचार्य र रिदम ब्याण्डका साथमा हास्यकलाकार सन्दिप क्षेत्रीको समेत प्रस्तुती रहनेछ ।

फेस्टिबलको अवसरमा आयोजना गरिएको परेड यसवर्ष अझै विशेष हुन लागेको परेड सयोंजक सन्ध्या शाहले जानकारी दिईन् । शनिवार बिहान ११ बजेदेखि १२ बजेसम्म हुने परेडमा लाखे, शिव पार्वती, कुमारी रथयात्रा, पञ्चकन्या, नेपाली मौलिक पञ्चेबाजाका साथमा विभिन्न झाँकी र अन्य विभिन्न नेपाली मौलिक संस्कृति झल्किने प्रस्तुती सहित बरउड पार्कबाट सुरु भई पार्क एभेन्यूमा जम्मा भएर कोमार स्ट्रीटबाट परिक्रममा गर्ने उनले बताईन् । त्यसपछि औपचारिक कार्यक्रम सुरु हुनेछ भने बेलुका सांस्कृतिक कार्यक्रहरु हुनेछन् ।

फेस्टिबललाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न तैयारी समितिहरु गठन गरिए बमोजिम सबैले आआफ्नो जिम्मेवारी पुरा गरेको मुल समारोह समिति सयोंजक देव गुरुङले बताए । फेस्टिबल सम्पन्न गर्न गठित उपसिमितिमा एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्स राज्य परिषद उपसयोंजक सुकृति भट्ट, न्यू साउथ वेल्स राज्य परिषद सचिव विनोद कुँवर, कोषाध्यक्ष भावना श्रेष्ठको सयोंजकत्वमा व्यवस्थापन, ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतिक समिति, परेड व्यवस्थापनमा एनआरएनए अस्ट्रेलिया सचिव सन्ध्या शाह सयोंजक रहेको उपसमिति छ ।

त्यस्तै स्पोन्सर व्यवस्थापनमा अनिल पोखरेल, सत्य प्रकाश कडेंल, भुवन पाण्डे,बिनोद कुँवर, स्टल व्यवस्थापनमा अनिल पोखरेल, नेपाल हाउसमा सुकृति भट्ट र मञ्च व्यवस्थापन टिएन अर्याल लगायत रहेका छन् ।

फेस्टिबलको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भई नेपाली मौलिकतालाई झल्काउने र कार्यक्रमलाई भव्य बनाउन गुरुङले सबैसगं अनुरोध गरेका छन् ।