काठमाडौं । आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल ज्योतिष परिषद्,लुम्बिनी प्रदेश कार्य समितिका उप महासचिव अनन्तप्रसाद घिमिरेले बताए ।
आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ ।
चन्द्रग्रहण निम्नाअनुसार फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।
मेष – घात,
वृष – व्यय,
मिथुन – लाभ
कर्कट – सुख
सिंह – माननाश
कन्या – कष्ट
तुला – स्त्रीपीडा
वृश्चिक – सुख
धनु – चिन्ता
मकर – व्यथा
कुम्भ – श्रीप्राप्ति
मीन – क्षति






