अनेसासको लक्ष्मी जयन्ती,साहित्यिक एवम् देउसी भैलो कार्यक्रम सम्पन्न

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स राज्यले ११३ औं लक्ष्मी जयन्ती एवं साहित्यिक र देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

२२ अक्टोबर शनिवार झरना फंक्सन केन्द्र रकडेलमा सम्पन्न कार्यक्रममा विभिन्न रचना वाचन सगैं अन्य विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

अनेसास एनएसडब्लुकी अध्यक्ष ममता तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने उपस्थित सम्पूर्ण अतिथिहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्यार्पण गरेर सुरुवात गरिएको थियो ।

कार्यक्रममा नेपाली राष्ट्रिय गान र बालबालिकाहरुको प्रतिभा सगैं देउसी खेलेर रमाईलो समेत गरिएको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ गज़लकार ज्ञानुवाकर पौडेल, साहित्यकार हरिहर तिमिल्सिना, कवि उद्धवहरी अधिकारी, कवि जीवराज घिमिरे, गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ठुलो संख्यामा साहित्यिक सर्जकहरु एवं सिड्नीका विभिन्न सामाजिक संस्थाहरुका अध्यक्ष, महासचिव र प्रतिनिधिहरुका साथै सिड्नीमा स्थापित नेपाली पत्रकारहरुको समेत उल्लेखनिय उपस्थिति रहेको थियो । सो अबसरमा आमन्त्रित कविहरु एवं सहभागि दर्शकहरुले आ-आफ्ना कविता र गज़ल वाचन गरेका थिए ।

अनेसासकी अध्यक्ष तिवारीले शुभ दिपावलीको तथा तिहारको शुभकामना व्यक्त गर्दै कविता कविता बाचन गरेकी थिईन् । उनले कार्यक्रम सफल बनाउन विभिन्न माध्यमबाट सहयोग पुर्याउने महानुभावहरुलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रमको सञ्चालन अनेसास न्यु साउथ वेल्स शाखाका महासचिव डा.प्रकाश पौडेल र पब्लिक अफिसर चतुर्भुज खरेलले गरेका थिए ।