सिगों नेपाल बोल्ने तेश्रो ‘नेपाल फेस्टिबल पर्थ २०२२’ नोभेम्बर २६ मा हुने

सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने महाअभियान बोकेको नेपाल फेस्टिबल अस्ट्रेलियाको पश्चिमी शहरमा पर्ने पर्थमा पनि आयोजना हुने भएको छ । सिगों नेपालको प्रतिनिधित्व गर्ने “नेपाल फेस्टिबल पर्थ-२०२२” यही नोभेम्बर २६ तारिखमा फरेस्ट जेजमा आयोजना गरिएको छ ।

नेपालको मौलिक कला, संस्कृति र नेपाली मौलिकपनको प्रवद्र्धन गर्दै अस्ट्रेलियामा चिनाउने उद्धेश्यले गैर आवासीय नेपाली सघं एनआरएनए अन्तर्गतको वस्टर्न राज्य समितिले आयोजना गरेको कार्यक्रमको तैयारी भव्य रुपमा सुरु भएको छ । प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको फेस्टिबल सन् २०१४ र २०१८ पछि तेश्रोपटक गर्न लागिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् वेस्टर्न राज्य समिति सयोंजक दिपक बस्नेतले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

फेस्टिबल सम्पन्न गर्न आन्तरिक तैयारीसगैं विभिन्न समुदायका व्यक्ति तथा सघंसंस्थाहरु सम्मिलित तैयारी समिति निर्माण गरी तैयारी भव्य पारिएको उनले बताए । “नेपाली मौलिकता बोकेको फेस्टिबलले ठुलो महत्व बोकेको छ उनले भने हाम्रा मौलिक कला, संस्कृति, भेषभुषा, रहनसहन र हाम्रा मौलिकता जोगाई राख्दै तीनको प्रवद्र्धन गर्ने तथा अस्ट्रेलियन तथा अन्य विभिन्न समुदायका व्यक्तिहरुलाई साक्षात्कार गराउने कार्यक्रमको मुख्य उद्धेश्य हो ।” बस्नेतले नेपाल फेस्टिबल सबैको कार्यक्रम भएकाले उपस्थितिका लागि समेत सम्पूर्णलाई आग्रह गरेका छन् ।

के के छन् कार्यक्रम ?

फेस्टिबलमा नेपाली पन झल्काउने विभिन्न प्रस्तुतीसगैं परेड, नेपाली हाउस, विभिन्न संस्कृति तथा नेपाली कलाकारहरुका साथमा विभिन्न रमाईलो कार्यक्रम समेत आयोजना गरिएको छ । नोभेम्बर २६ तारिख बिहान ११ बजे कलश यात्रा सहित विभिन्न सांस्कृतिक कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

त्यस्तै १ः३० बजेदेखि ३ बजेसम्म औपचारिक कार्यक्रम पश्चात बेलुकी ५ बजेबाट बहुचर्चित नेपाली कलाकार दिपक बज्राचार्यका साथमा रिदम ब्याण्डले आफ्नो सागींतिक प्रस्तुती दिई दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछ । सोही अवसरमा विभिन्न नेपाली झाँकीहरु सगैं स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिनेछन् । विगतको भन्दा केही फरक कार्यक्रमको आयोजना गरिएकाले उक्त अवसरमा बहुसांस्कृतिक समुदायका आ-आफ्नै विभिन्न सांस्कृतिक झलकहरु पनि प्रस्तुत गरिने बस्नेतले बताए ।

को को हुँदैछन् उपस्थित ?

फेस्टिबलमा मन्त्री देखि स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु समेत उपस्थित हुँदैछन् । सबैलाई औपचारिक रुपमा निमन्त्रणा गर्ने काम सकिएको र केहीले उपस्थिति हुन सक्ने जानकारी गराएको तथा कहीबाट सहभागीता बारे जानकारी आउनेक्रममा रहेको बस्नेतको भनाई छ । झण्डै ५ हजार दर्शकको उपस्थिति हुने अनुमान आयोजकले गरेको छ ।

फेस्टिबलमा अस्ट्रेलियाकालागि नेपाली राजदुत कैलाशराज पोखरेल,वेस्टर्न अस्ट्रेलियाकी बहुसांस्कृतिक मन्त्री टोनी बुटी,वातावरण तथा जलवायु मन्त्री रिस बीट्सी, पर्थका स्थानीय मेयर एवम् अन्य नेता लगायत विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति हुँदैछ । वेस्टर्न अस्ट्रेलियाका प्रिमियरलाई पनि निम्ता पठाईएको भएपनि कार्यक्रममा सहभागी हुने नहुने बारे औपचारिक जानकारी नआएको बस्नेतले लण्डन नेपाल न्यूजलाई बताए ।

को को ले गरे सहयोग ?

कार्यक्रम सम्पन्न गर्न दर्जनौँ सघंसंस्थाले सहयोग गरेका छन् । फेस्टिबलका लागि लोट्रिवेस्ट र रोड सेफ्टी कमिसनले झण्डै २० हजार डलर सहयोग गरेका छन् । त्यस्तै एभरेष्ट ग्लोबल भिसा सर्भिसेसले टाईटल स्पोन्सर गरेको छ भने पावर्ड बाईको रुपमा ईन्स्टिच्यूट अफ हेल्थ एण्ड नर्सिङ अस्ट्रेलियाले सहयोग गरेको छ ।

गोल्ड स्पोन्सरका रुपमा किङस्टन इन्टरनेश्नल कलेज, एभरेस्ट फाइनान्स, एनआरटी अष्ट्रेलिया, अल्टस्सच्युड केयर, इनोभेटिभ एशोसिएशन, एक्सपर्ट एजुकेशन भिसा सर्भिस र प्लाटिनम स्पोन्सरका रुपमा ग्रेस इन्टरनेश्नल, ड्रिमल्याण्ड माईग्रेसन सर्भिस, स्ट्ण्ड्ली कलेज, बलप्रितसिंह लोनमार्केट र हिमालयन नेपलिज रेस्टुरेन्टले साथ दिएका छन् । कार्यक्रममा सहयोग आउने क्रम अझै पनि जारी रहेको बस्नेतको भनाई छ ।