लण्डन । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट स्थायी ठेगाना भई हाल बेलायत बसोबास गर्ने मोतिराज भण्डारी र तारानाथ भण्डारीले प्रदान गरेको जग्गामा भवन निर्माण भएको हो । भण्डारीद्धयले ०७७ सालमा पाँच रोपनी जग्गा स्वास्थ्य चौकीलाई प्रदान गरेका थिए ।
नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ । भवनको बिहीबार उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको बताए ।
त्यस्तै नवनिर्मित भवनबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र विश्वसनीय बनाउन समेत आग्रह गरे । उनले बेलायतमा रहेर आफ्नो ठाउँको स्वास्थ्य क्षेत्रको विशेष योगदान गर्दै जग्गा उपलब्ध गराउने भण्डारीद्धय प्रति धन्यवाद समेत व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पुन्य कमाउनको लागि तिर्थ-ब्रत जानुनपर्ने उल्लेख गर्दै जग्गादाता द्धय भण्डारीलाई धन्यवाद् दिए । उनले बेलायतमा कर्मथलो भएपनि जन्मथलो प्रतिको माया देखाउने जग्गादाता प्रति धन्यवाद व्यक्त गर्दै अरुलाई पनि प्रेरणा मिलेको बताए ।
भवनको ०७७ फागुन ४ गते तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोणर् बहादुर खत्रीले शिलन्यास गरेका थिए।डिएन्डी पुष्पाञ्जली जेभीले एक करोड ५७ लाख रुपिँयाको लागतमा भवन निर्माण गरेको थियो । ०७७ माघ १९ गते सम्झौता भएको भवनको काम ०७८ माघ १ गते निर्माण सम्पन्न गरिनसक्नुपर्ने उल्लेख थियो ।
समयमै काम सम्पन्न गरेपनि विविध कारणले भवनको संचालन एवम् हस्तान्तरण हुन सकेको थिएन् । कार्यक्रममा जग्गादाताद्धय भण्डारी र निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।


को हुन् मोति भण्डारी
बेलायत स्थित गुल्मेलीहरुको परोपकारी संस्था गुल्मी जिल्ला समाज युकेका संस्थापक उपाध्यक्ष एवम् सल्लाहकार र सामाजिक अभियान्ता हुन् । उनले गृह जिल्ला लगायत नेपालका विभिन्न ठाउँमा परोपकारी कार्य गर्दै आईरहेका छन् । विशेष गरी नेपाल र बेलायतमा एउटा सामाजिक अभियान्ताको रुपमा उनको परिचय अगाडी छ ।
लण्डन नेपाल न्यूजसंको कुराकानीमा मोति भण्डारीले आफु जन्मेको ठाउँका दाजु भाई दिदीबहिनीहरुले आधारभूत तहको स्वास्थ्य सेवा सहज रुपमा गाउँमै पाउन् भन्ने उद्धेश्यले आफुहरुले सहयोग गरेको बताए ।
तारानाथ भण्डारी
एनआरएन युकेका पूर्व सचिव एवम् गुल्मी जिल्ला समाज युकेका पूर्व उपाध्यक्ष तारानाथ भण्डारीले लन्डन नेपाल न्युज संग भने- “हामीहरु विदेशमा रहेपनि आफ्नो जन्म ठाउँ फर्कँदा कहिले गोठमा, कहिले वडा कार्यालयको साँघुरो कोठाबाट बिरामीहरुले सेवा लिएको देखेपछि स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने पबित्र उद्देश्यले गरेको हाम्रो प्रयास सार्थक भएको छ ‘अहिले नयाँ भवन निर्माण भएपछि धरै खुसी छौ ।”









