बालेनले रचे ईतिहास : भेटियो गायब रहेको टुकुचा खोला !

काठमाडौं । काठमाडौंको हात्तीसारस्थित जय नेपाल हलको आगन खोतल्दा टुकुचा खोला भेटिएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किने टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब छ । स्थानीय बासिन्दाले टुकुचा खोला मासेर संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकामा जानकारी दिएका थिए । उनीहरूले टुकुचा खोलामा बनेका संरचना हटाउन माग गरेका थिए ।

त्यसपछि महानगरले गत साउन १२ गते सूचना प्रकाशित गरी टुकुचा खोलाको अतिक्रमण हटाउन अपील गरेको थियो । महानगरले यसका लागि ३५ दिनको म्याद दिएको थियो ।

तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएपछि आज महानगरको टोली डोजर लिएर जय नेपाल हल क्षेत्रमा पुगेको हो ।

महानगरले खोलाको बहाव क्षेत्र आकलन गरेर डोजरले खन्न लगाएको थियो । जय नेपाल हलको आगनमा केही फुट खन्दा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।

अब महानगरले यो क्षेत्रमा खोला अतिक्रमण गरेर बनाएको संरचना हटाउने भएको छ । आजदेखि शुरू भएको काम जारी रहने महानगर प्रवक्ता नवीन मानन्धरले बताए ।