चन्द माओवादीद्वारा सिन्धुपाल्चोक बन्द

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आह्वान गरेको सिन्धुपाल्चोक बन्दका कारण आज बिहानैबाट जनजीवन प्रभावित भएको छ । स्थानीयलाई सेयर दिन भोटेकोशी पावर कम्पनीसँग अन्य दलले गरेको सहमति खारेजीको माग गर्दै माओवादीले बन्दी गराएको हो । बन्दका कारण सिन्धुपाल्चोकबाट कुनै पनि सवारीसाधन काठमाडौं भित्रिएका छैनन् भने काठमाडौबाट पनि सिन्धुपाल्चोक जान सकेका छैनन् । बन्द सफल पार्न भन्दै माओवादीका कार्यकर्ताहरु चोकचोकमा खटिएका छन् । बन्द शान्तिपूर्ण रहेको र बजार पसल ठप्प रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत पौष ९ गते स्थानीयलाई ६ प्रतिशत सेयर दिने गरी कम्पनी र राजनीतिक दलबीच भएको सहमति जनबिरोधी भन्दै नेकपा–माओवादीले उक्त सहमति खारेजीको माग गर्दै दबाबस्वरुप बन्दको आव्हान गरेको बताएको छ । माओवादीले स्थानीयलाई २० प्रतिशत सेयर दिनुपर्ने माग राखेको छ । यसैबीच, तीन दिनदेखि बन्द चितवनका होटल आजदेखि सञ्चालनमा आएका छन् । स्थानीय प्रशासन र होटल व्यवसायीबीच मङ्गलबार साँझ भएको वार्ता सहमतिमा टुङ्गिएपछि होटल सञ्चालनमा आएका हुन् । एक हप्ताभित्रमा पुरानो आचारसंहिता परिमार्जन गरी नयाँ आचारसंहिता लागू गर्न सहमति भएको व्यवसायीले बताएका छन् । व्यवसायको सुरक्षाको माग गर्दै चितवनमा होटल व्यवसायीले आइतबार बैठक बसी आफ्नो होटल व्यवसाय अनिश्चितकालका लागि बन्द गरेका थिए । गएको शनिबार प्रहरीले होटलमा बसेका ४९ जोडीलाई पक्राउ गरी व्यवसायीलाई समेत नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलित भएका थिए । सुरक्षित रुपमा होटल व्यवसाय सञ्चालन गर्न नपाएको भन्दै होटल व्यवसायी सङ्घ चितवनको आह्वानमा बन्द गराएको थियो ।