जिल्ला अस्पताल पर्वतलाई ब्रिटिस गोर्खा नेपालले झन्डै रु ७० लाख मूल्य बराबरका उपकरण सहयोग गरेको छ । ब्रिटिस गोर्खा नेपालले अस्पतालमा रेडियोलोजी तथा दन्त विभागका लागि आवश्यक पर्ने उपकरण तथा आवश्यक पर्ने अन्य सामग्री सहयोग गरेको हो ।
पर्वत जिल्ला अस्पतालका लागि आवश्यक पर्ने अत्याधुनिक दुईवटा एक्सरे मेसिन, एक्सरे प्रोसेर युनिट, त्यसका लागि आवश्यक पर्ने अन्य सामग्री, बिरामीको नाम पत्ता लगाउने उपकरण, दन्त विभागका लागि डेन्टल चेयरलगायतका उपकरण सहयोग गरिएको छ ।
ब्रिटिस गोर्खा नेपालका स्वास्थ्य विभागका प्रमुख दलबहादुर गर्बुजाले अस्पताल विकास समितिका अध्यक्ष शिवप्रसाद पौडेललाई सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा ब्रिटिस गोर्खा नेपालका स्वास्थ्य विभागका प्रमुख गर्बुजाले यसबाट अस्पतालको उपचार सेवामा थप सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिवप्रसाद पौडेलले अस्पतालको क्षमता विस्तार गरी ५० श्ययाको बनाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । अस्पतालमा केही महिना पहिले स्वास्थ्य मन्त्रालयको सहयोगमा सुविधा सम्पन्न एक्सरे मेसिन जडान भइसकेको छ भने ब्रिटिस गोर्खा नेपालले अस्पतालमा उपकरण सहयोग गरेपछि अस्पतालको रेडियोलोजी विभाग सुविधा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरले रोग निदानका लागि अत्यावश्यक पर्ने उपकरण सहयोग गरेर अस्पतालको सुविधा बढाउने महत्वपूर्ण काम भएको बताउनुभयो ।
पर्वत अस्पताललाई ब्रिटिस गोर्खाको सहयोग






