सन्दीप लामिछानेमाथि बलात्कारको आरोप, प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

एक किशोरी र उनका आफन्तले लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । लामिछानेविरुद्ध मंगलबार साँझ उजुरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार काठमाडौंको एक होस्टेलमा बस्ने १७ वर्षकी किशोरीले सन्दीपले भदौ पहिलो साता आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

जाहेरपछि प्रहरीले बेलुका किशोरीको स्वास्थ्य परीक्षण गराएको छ । प्रहरीले घटनाबारे औपचारिक जानकारी गराएको छैन ।

आफन्तका अनुसार किशोरी सन्दीपको फ्यान थिइन । सामाजिक संजाल मार्फत उनी सन्दीपसँग नजिकिएकी थिइन ।

भदौ पहिलो साता नगरकोटमा लगेर आफूमाथि जवरजस्ती गरेको भन्दै किशोरीले जाहेरीमा उल्लेख गरेको स्रोतले जनाएको छ । सन्दीप खेलका लागि अहिले विदेशमा छन् ।