भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशको भ्रमणमा

ढाका, २३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बङ्गलादेश आइपुग्नुभएको छ । यस भ्रमणमा दुई मुलुकबीच सीमामा भूमिसम्बन्धी सम्झौता हुनेछ र त्यसबाट सीमा क्षेत्रमा एक अर्काका सीमाभित्र पसेका क्षेत्रमा बसोबास गर्ने दशौँ हजार जनतालाई आफ्नो नागरिकता छनौट गर्ने अधिकार प्राप्त हुनेछ । यसअघि उनीहरूले दशकौँसम्म राज्यविहीनताको अवस्था भोग्नुपरेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएपछि बङ्गलादेशका समकक्षी सेख हसिनाले उहाँलाई स्वागत गर्नुभयो । प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणमा बङ्गलादेशसँग व्यापार सम्झौता हुने बताइएको छ भने उहाँले प्रतिपक्षी नेता खालेदा जियासँग पनि भेटवार्ता गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री मोदी मे महिनामा शासनमा पुग्नुभएपछि यो ढाकामा उहाँको पहिलो भ्रमण हो । यस भ्रमणमा दुई मुलुकबीच चार हजार किलोमिटर सीमाका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
दिल्लीको चीन तथा पाकिस्तानसँग पनि सीमा विवाद रहेको छ भने यस भूमि सीमा सम्झौताले दुई मुलुकबीच सम्बन्धमा कठिनाइ उत्पन्न गराउने ठूलो समस्या समाधान गर्नेछ । सन् २०७१ मा बङ्गलादेशको पाकिस्तानसँग पृथक हुने युद्धमा भारतले हस्तक्षेप पछि यो मुलुक स्वतन्त्र भएको हो र यसपछि बङ्गलादेशको भारतसँग राम्रो सम्बन्ध रहेको छ । बङ्गलादेशले सीमासम्बन्धी सम्झौतालाई सन् १९७४ मै समर्थन जनाएको थियो भने गत महिना मात्र भारतको संसदले यसमा समर्थन जनाएको हो । शनिबार भारतीय प्रधानमन्त्री मोदी तथा र बङ्गलादेशका समकक्षी हसिनाले यसलाई संयुक्त रूपमा समर्थन गर्नुहुनेछ ।
यस सम्झौता अनुसार भारतले असाम, त्रिपुरा, मेघालय र पश्चिम बङ्गालका क्षेत्रहरू साट्ने छ । यी क्षेत्रमा बसोबास गर्ने व्यक्तिले आफ्नो नागरिकता भारतीय वा बङ्गलादेशी भनी छनौट गर्न पाउनेछन् । यसपछि दुई मुलुकको भित्र पसेका क्षेत्रहरू अन्त्य हुनेछन् । यस्तो अवस्थाका कारण हालसम्म करिब ५० हजार व्यक्तिले सरकारबाट पाउने विद्यालय, औषधोपचार तथा अन्य सुविधा पाउन सकेका थिएनन् । भारतीय प्रधानमन्त्री मोदी तथा बङ्गलादेशका विदेशमन्त्री ए.एच. महमुदले यसले दुई मुलुकबीच सम्बन्धमा नयाँ अध्याय आरम्भ गराउने बताउनुभयो ।
भारतका विदेशसचिव सुब्रमन्यम जयशङ्करले यस सम्झौताले मानिस, लागुपदार्थ तथा मुद्राको गैरकानुनी व्यापार रोक्नसकिने बताउनुभयो । प्रधानमन्त्री मोदीको भ्रमणको समयमा व्यापार तथा यातायातका २० सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । यसै अवधिमा भारतका ठूला व्यापारिक संस्था रिलायन्स तथा अदानीले पनि बङ्गलादेशको व्यापार क्षेत्रमा अरबौँ अमेरिकी डलर लगानी गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।