सम्पूर्ण विदेशी सैनिक फिर्ता

काठमाडौँ, २२ जेठ । गत वैशाख १२ गते भूकम्पपछि नेपाल आएका १८ राष्ट्रका सेनाका सम्पूर्ण टोली भूकम्पपीडितको खोज, उद्धार, राहत, घाइतेलाई उपचार सेवा, अवरुद्ध सडक खुलाउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यसम्पादन गरी स्वदेश फिर्ता भएका छन् । क्यानडाका बाँकी सात सैनिक स्वदेश फिर्ता भएपछि मित्रराष्ट्रबाट आएका सबै विदेशी सैनिक फिर्ता हुने कार्य सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ । मित्रराष्ट्रबाट आएका सम्पूर्ण खोज तथा उद्धार टोली स्वदेश फिर्ता भएपछि जङ्गी अड्डा परिसरमा सञ्चालन भएको मल्टिनेसनल मिलिटरी कोओर्डिनेसन सेन्टर आजैदेखि बन्द गरिएको र यससम्बन्धी बाँकी कार्य भएमा बलाधिकृत विभाग, व्यवस्था तथा युद्ध कार्य महानिर्देशनालयको कार्यालयबाट सम्पन्न हुने जनाइएको छ ।
नेपाल र नेपालीलाई परेको प्राकृतिक विपद्को कठिन घडीमा तत्काल आई नेपाली सेनासँग हातेमालो गर्दै भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषमा पुरिएकालाई जीवितै उद्धार गर्ने, शव निकाल्ने, घाइतेको उपचार गर्ने, राहत सामग्री ढुवानी गर्ने एवम् अवरुद्ध सडक खोल्नेजस्ता कार्य गरी अतुलनीय सहयोग गरेकामा सेनाले धन्यवाद दिएको छ । यस किसिमको सहयोग तथा सहकार्यबाट सबै मित्रराष्ट्रसँग लामो समयदेखि रहिआएको मैत्रीपूर्ण तथा पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुगेको सेनाले जनाएको छ ।

खोज र उद्धार जारी
सेनाले भूकम्पबाट प्रभावित जिल्लाका विभिन्न गाविसमा प्रभावकारी ढङ्गले आफूसँग उपलब्ध स्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत, भग्नावशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य गर्दै आइरहेको छ । भूकम्पपछि रसुवाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशीको शव खोजीका लागि हिमपहिरो जाने क्रममा कमी भएपछि पुनः नेपाली सेनाको रेन्जर डिजास्टर एसेस्मेन्ट एन्ड रेस्पोन्स टिम परिचालन गरी खोजीलाई निरन्तरता दिइएको छ । स्याफ्रुबेंसीबाट केन्जिङसम्मको बाटो खुलाउने कार्यका लागि समेत नेपाली सेना प्रयासरत छ ।
सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा २५० केजी खाद्यान्न पु-याएको तथा सिन्धुपाल्चोकमा अलपत्रमा परेका एक भूकम्पपीडित घाइते तथा बिरामी नेपालीलाई उद्धार गरेको छ । सेनाले आज पनि काठमाडौँ उपत्यकाका २५ केन्द्रमा १४ पानीट्यांकीद्वारा दुई लाख ७४ हजार लि खानेपानी वितरण गरेको छ ।
त्यस्तै सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले काठमाडौँस्थित वसन्तपुर दरबार क्षेत्र, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र साँखु इलाका, ललितपुर बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित चाँगुनारायण मन्दिर जस्ताको पुरातात्विक महत्वका संरचनाको भग्नावशेष व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ । यसैगरी ती संरचनाको भग्नावशेषमा रहेका महत्वपूर्ण वस्तुको सुरक्षाका निमित्तसमेत सेना अहोरात्र खटिरहेको बताइएको छ ।