हिमानी कोष अस्ट्रेलियाको भव्य कार्यक्रम : सासंद देखि मन्त्रीले दिए शुभकामना

सिड्नी । हिमानी कोष अस्ट्रेलियाको आयोजनामा पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको उपस्थितिमा अन्तरक्रिया तथा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

हिमानी ट्रष्ट नेपालले नेतृत्व गरेको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’ लाई सहयोग गर्ने उद्धेश्यले  अगष्ट १२ तारिखमा सिड्नीको पार्लामेन्ट हाउसमा सम्पन्न कार्यक्रममा नेपाल र अस्ट्रेलियाको विभिन्न नेता तथा हिमानी ट्रष्टको तर्फबाट विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्ले वक्ताहरुले हिमानी ट्रष्टले गरेका कार्यहरुको खुलेरै प्रशसां गरेका थिए । कार्यक्रममा सहभागी हुन् पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह मंगलबार अस्ट्रेलिया आएकी थिईन् । सोही अवसरमा पूर्व युवराज्ञी हिमानी शाहले विशेष कक्षमा बहुसांस्कृतिक मन्त्री मार्क क्यूरी र वीलिभी क्षेत्रका सांसद टिम जेम्स शिष्टाचार भेटघाट समेत गरेकी थिईन् ।

लगत्तै सुरु भएको कार्यक्रममा हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत कार्कीले हिमानी कोषको स्थापना, हालसम्म गरेका कार्यहरु र नेपालमा विभिन्न क्षेत्रमा भईरहेका कामहरुको बारेमा जानकारी गराएकी थिईन् । उनले हिमानी ट्रष्ट नेपाललाई सहयोग पुर्याउने अवधारणा बमोजिम नेपाल बाहिर पहिलो च्याप्टरको रुपमा अष्ट्रेलियामा पनि यसको स्थापना भएको स्पष्ट पारिन् । उनले सबैको साथ सहयोगले यो ठाउँसम्म आउन पाउँदा खुसी लागेको बताईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बहुसांस्कृतिक मन्त्री म्यार्क क्यूरीले नेपाल र अस्टेलियाबीचको सुमधुर सम्बन्ध बनाउन ट्रष्टले गर्ने कार्यक्रमहरुले सहयोग पुर्याएको बताए । उनले पूर्व युवराज्ञी हिमानीलाई कार्यक्रममा देख्न पाउँदा खुसी व्यक्त गर्दै उनको सादगी र सरल जीवनयापनबाट प्रभावित भएको समेत स्पष्ट पारे । ट्रष्टले नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्याएको भन्दै उनले नेपाल र अष्ट्रेलिया दुई देशको ६० औँ बर्षगाँठ २ वर्ष अगाडी मनाएको स्मरण गरे ।

कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले सम्बोधन गरेकी थिईन् । उनले ठुलो संख्यामा नेपालीहरुलाई कार्यक्रममा देख्न पाउँदा खुसी लागेको बताउँदै नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध धेरै पुरानो रहेको बताईन् । उनले १९६० फेब्रुअरी १५ देखि दुई देशबीच कुटनीतिक सम्बन्ध कायम भएको भन्दै अष्ट्रेलिया र नेपाल का डायस्पोराको नेताहरुसगं भेट्न पाउँदा खुसी लागेको समेत बताईन् ।

हिमानीले राजा महेन्द्र १९७१ मा अष्ट्रेलिया आएको स्मरण गर्दै त्यसपश्चात राजा विरेन्द्रले १९९५ मा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको स्मरण गरिन् । उनले दुईदेशबीचको सम्बन्ध राजाको पाला देखिनै प्रगाढ रहेको समेत बताईन् । ट्रष्टको कार्यक्रम मानव सेवामा समर्पित रहेको भन्दै उनले विशेषगरी त्यसै अनुरुप २०२० मा संस्था स्थापना भएको भन्दै २ वटा च्याप्टरमा ट्रष्ट स्थापना भएको बताईन् । आफुहरुको पछिल्लो प्राजेक्ट ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’मा सहयोग होस् भन्ने हेतुले आयोजित कार्यक्रममा भएको सहभागीताले आफु उत्साहित भएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिन् ।

सोही अवसरमा हिमानी ट्रष्ट नेपालकी सचिव डा.रेश्मा रानाले ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’को बारेमा जानकारी गराउँदै हिमानी कोषले विदेशबाट सहयोगी हातहरु सकंलन गरेर नेपालमा काम गर्ने गरेको बताईन् ।

न्यू साउथ वेल्स महावाणिज्यदूत  दिपक खड्काले आफु पनि ग्रामीण क्षेत्रबाट सघंष गरेर आएको भन्दै नेपालका ग्रामीण एवम् विकट वस्तीहरुमा रहेका समस्याहरुको समाधान गरी नेपालीहरुको सहयोगका लागि संस्थाले गरेको कार्यहरु महत्वपूणर् भएको बताए । उनले नेपालका धेरै ठाउँमा अझै पनि शुद्ध खानेपानीको अभाव रहेको भन्दै ट्रष्टको पछिल्लो प्रोजेक्टले जनतालाई खानेपानीको पहुँचमा पुर्याउने भन्दै सबै नेपालीले सहयोग गर्नुपर्ने बताए ।

 एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुले पूर्व युवराज्ञी हिमानीले आफु सुविधाजनक ठाउँमा बसेर पनि यस्तो कार्य सुरु गरेकोमा खुसी लागेको भन्दै प्रशंसा गरे । उनले आफु हिमानीको फ्यान भएको भन्दै कार्यक्रमलाई मनै देखि सहयोग गर्ने र अरुलाई पनि सहयोगका लागि प्रोत्साहित गर्ने बताए ।

मेम्बर अफ रोटरी क्लव दि वाई वारिगां विन्डी फिनियानोसले रोटरी क्लवले पनि नेपालका विभिन्न ठाउँमा सहयोग गरेको बताउँदै ग्रामीण क्षेत्रमा विद्यालय निर्माण, मोतियाबिन्दुको निशुल्क शिविर तथा अन्य महत्पूणर् कार्यक्रम गरेको र हिमानी ट्रष्टले गर्ने कार्यहरु पनि अझै उत्कृष्ट भएको बताईन् । उनले नेपालमा पनि १ हजार भन्दा बढी रोटरी क्लव रहेको र ८१ वटा प्रोजेक्टहरुमा सबै प्रोजेक्ट अस्ट्रेलियाबाटै सुरु भएको स्पष्ट पारिन् ।

एआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले हिमानी टष्टले सुरु गरेको कार्यले देशकै शिर उच्च गरेको बताए । उनले दरबार हत्या काण्डपछि दुखित भएको स्मरण गर्दै उच्च परिवारको व्यक्ति भएर पनि हिमानी शाहले गरेको काम निकै उत्कृष्ट रहेको स्पष्ट पारे । उनले नेपालीहरु धेरै भएको ठाउँमा नेपालीहरुको नेतृत्व गरिरहेको ठाउँमा ट्रष्टलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै आउँदो नोभेम्बर १९ मा नेपाल फेस्टिबल हुँदै गरेको जानकारी दिए ।

पूर्व राजकुमारी शीतश्मा राज्यलक्ष्मी देवी शाहले हिमानी ट्रष्टले विद्यालय निर्माण, आर्थिक अभावमा विद्यालय नपुगेका बालबालिकालाई सहयोग गर्ने लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरेको बताईन् । उनले विदेशमा रहेका नेपालीहरुको सहयोगले कार्यक्रम गर्न सहज हुने भएकाले अस्ट्रेलियाका अन्य ठाउँमा पनि च्याप्टर स्थापना गरिने बताईन् ।

सो अवसरमा नेवारी समुदायको कुमारी नाँच र मगर समुदायको नाँच समेत देखाईएको थियो । कार्यक्रमको अन्त्यमा हिमानी ट्रष्ट अस्ट्रेलियाकी अध्यक्ष कार्कीले सबैको साथ सहयोगले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै सहयोगी सम्पूर्ण प्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा सिड्नीमा रहेका विभिन्न समाजका प्रतिनिधिहरु तथा नेपाली समुदायका प्रतिनिधिहरु,अस्ट्रेलियन जर्नालिष्ट एशोशियसनका सदस्य सहित सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

यसैबीच पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी शाहको उपस्थितिमा अगष्ट १० मा बेलुकी ६ बजेदेखि ८ बजेसम्म नर्थ क्यामरेमा महिला सशक्तिकरण कार्यक्रममा समेत सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा पूर्व युवराज्ञी शाहले रोयल परिवारबाट भएपनि आफुले गरेका कार्यहरु,आफ्ना जिन्दगीका अवसर र चुनौती तथा ट्रष्ट स्थापना देखि हालसम्म गरेका कार्यहरु प्रस्तुत गरेकी थिईन् । त्यस्तै कार्यक्रममा उपस्थित महानुभावहरुले आआफ्नो विधामा मन्तव्य दिएका थिए । भने कार्यक्रममा बहुसांस्कृतिक मन्त्री होर्न मार्क क्युरी, महिला सुरक्षा र घरेलु तथा यौन हिंसा रोकथाम मन्त्री नेटाली पेटा वार्ड लगायतका नेपाली तथा अष्ट्रेलियाका स्थापित एवम् दिग्गज महिलाहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै अगष्ट ११ तारिखमा ट्रष्ट सदस्यहरु र हिमानी शाह तथा नेपालबाट आएका प्रतिनिधिहरुसगं आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । पूर्व युवराज्ञी हिमानी यतिबेला अस्ट्रेलियाका विभिन्न कार्यक्रममा व्यस्त रहेकी छिन् ।