पीपल ग्रुपको गल्फ च्याम्पियन बिजेता गजेन्द्र गुरुङले जिते १ तोला सुन !

लण्डन । छैटोँ पीपल गल्फ च्याम्पियनसीपको विजेता गजेन्द्र गुरुङ बनेका छन् । गत २३ जुलाई शनिबार शेरफिल्ड वक गल्फ क्लब बेजिङस्टोकमा सम्पन्न छैटौं पीपल गल्फ च्याम्पियनसीपमा १२० जना गल्फ खेलाडीले भाग लिएका थिए ।

उक्त च्याम्पियनसीपको ओभरल नेट विनर युवराज शाही बनेका छन् । दुवै विजेताले एक/एक तोला सुन, रनिङ र व्यक्तिगत ट्रफी हात पारेका छन् । गोर्खा गल्फ सोसाइटीको आयोजना र पीपल ग्रुपको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङ र गोर्खा गल्फ सोसाइटीका अध्यक्ष सोमरास तामाङले संयुक्त रुपमा बिहान ७ः३० बजे प्रतियोगिता उद्घाटन गरेका थिए । ३ वटा डिभिजनले भाग लिएको उक्त खेलको ‘ए’ डिभिजनतर्फ अशोक गुरुङ वीनर, फुर्तेन्जी शेर्पा फस्ट रनरअप र सरोज गुरुङ सेकेन्ड रनरअप बने ।

त्यस्तै, डिभिजन ‘बी’ बीएर्फ बलबहादुर लिम्बु विनर, प्रेमकाजी गुरुङ फस्ट रनरअप र इश्वर चाम्लिङ सेकेन्ड रनरअप भए । डिभिजन ‘सी’ तर्फ १२ वर्षीय हिमाल गुरुङ वीनर, कृष्ण तामाङ फस्ट रनरअप र मनबहादुर राना सेकेन्ड रनरअप भए । सो ३ वटै डिभिजनका विजेतालाई व्यक्तिगत ट्रफी र १५० पाउण्ड नगद, फस्ट रनरअपलाई व्यक्तिगत ट्रफी र १०० पाउण्ड नगद र सेकेन्ड रनरअपलाई व्यक्तिगत ट्रफी र ७५ पाउण्ड नगद पुरस्कार प्रदान गरिएको थियो ।

उक्त प्रतियोगिताका सिनियर खेलाडीतर्फ रुद्रबहादुर खड्का विजेता बने भने पहिलोपटक भाग लिएका खेलाडीतर्फ १८ वर्षीया रुविशा मल्ल विजेता भइन् । त्यस्तै, बीर लिम्बु (एनटीपी-१), देव राना (प्रो-एप्रोज इन टु), युवराज शाही (एलडी सिनियर) र मनोज गुरुङ (एलडी ओपन) ले नोभल्टी पुरस्कार जित्न सफल भएका थिए ।

उक्त प्रतियोगितामा प्रायोजक पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङसहित पीपल गु्रपका नाग्स राई, हरि गुरुङ, प्रिया गुरुङ, प्रतिमा गुरुङ र लाक्पा शेर्पाले रनिङ ट्रफी, व्यक्तिगत ट्रफी र नगद पुरस्कार संयुक्त रुपमा वितरण गरेका थिए । गोर्खा गल्फ सोसाइटीका सचिव गीताजंग गुरुङले संचालन गरेको पुरस्कार वितरण कार्यक्रममा गल्फ सोसाइटी अध्यक्ष तामाङ, पीपल ग्रुपका अध्यक्ष लगायत सहभागीहरुले सबै खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।

साथै, उनीहरुले गल्फ खेलतर्फ नेपाली युवाहरुको समेत आकर्षण बढेकामा खुशी व्यक्त गर्दै आउने दिनमा खेलाडीको संख्या वृद्धि हुने विश्वास व्यक्त गरे । पीपल ग्रुपले विगत केही वर्षदेखि पोखरेली मञ्च यूकेद्वारा आयोजित पीपल नेपाल कप क्रिकेट प्रतियोगिताको समेत मुख्य प्रायोजन गर्दै आएको छ । त्यस्तै, यसै वर्षदेखि पीपल नेपाल रन समेत सुरुवात गरेको छ ।

हालसम्म पीपल ग्रुपले फानवरो, आसफोर्ड, स्वीन्डन, हन्स्लो, टीथवर्थ र वेक्स्लीहिथमा कार्यालय स्थापना गरी पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्ट्सले मोर्गेज, प्रोटेक्सन्स, इन्स्योरेन्स, वील्स, लेटिङ्गस, सेल्स, म्यानेज्मेन्टलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।