काठमाडौं‌मा बोरिङ खन्दा निस्कियो ग्यास

काठमाडौं‌ : काठमाडौं‌काे जोरपाटीमा पानीका लागि बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास र माटो निस्किएको छ ।

जोरपाटीस्थित सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा एक्कासि विस्फोट भएर लेदोसहितको माटो र ग्यास निस्किएको हो । मंगलबार बोरिङ खन्ने क्रममा ग्याससहित लेदो निस्किँदा छेउछाउका घरहरू हिलाम्मे भएका छन् ।

खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठका अनुसार बोरिङ खन्दा मिथेन ग्यास निस्केको हो । जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासि विस्फोट भएर लेदोसहित ग्यास बाहिर निस्किएको हो ।

लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उनको भनाइ छ ।