बेलायतमा अहिलेसम्मकै अत्यधिक तापक्रम

लण्डन । बेलायतमा सोमबार र मगंलबार अत्यधिक तापक्रम मापन गरिएको छ । अत्यधिक तापक्रम बढेपछि बेलायतले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

बेलायतको मेट अफिस मौसम पूर्वानुमानविद्ले शुक्रबार राष्ट्रिय आपत्कालीन घोषणा गर्दै आगामी साता सोमबार र मंगलबार इङ्ल्याण्डका केही भागमा अत्यधिक गर्मी हुने जानकारी दिएका छन् ।

लन्डन आसपासका क्षेत्रमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरुले बताएका छन् । अत्यधिक तापक्रमका कारण हुने मृत्यु कम गर्न सबैलाई सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

अधिकारीहरूले तापक्रम हालसम्मकै सबैभन्दा उच्च हुने चेतावनी दिएका हुन् ।“असाधारण, सायद कीर्तिमान तोड्ने तापक्रम सोमबार र त्यसपछि मंगलबार पुनः सम्भव छ,” मौसम कार्यालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

उच्च तापक्रमले विशेषगरी बेलायतका सहरी क्षेत्रमा रातहरू अस्वभाविक रूपमा गर्मी हुने सम्भावना छ । यसले मानिस र पूर्वाधारहरूमा व्यापक प्रभाव पार्ने बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

बेलायतमा २५ जुलाई २०१९ मा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । क्याम्ब्रिज विश्वविद्यालय बोटानिक गार्डेनमा मापन गरिएको तापक्रम ३८.७ डिग्री सेल्सियस थियो ।