लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पदबाट राजिनामा दिएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरुले जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएसँगै जोनसनमाथि पनि राजीनामा दिन दबाब उत्पन्न भएको थियो ।
उनले बिहीवार नै सत्तारुढ दल कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने भएका छन् । जोन्सनले प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । पार्टीमा नयाँ नेता चयन नभएसम्मका लागि प्रधानमन्त्रीका रुपमा सेवा गर्ने उनले सम्बोधनका क्रममा बताएका छन् ।
नयाँ नेता चयनका लागि अर्को सातादेखि प्रक्रिया शुरु हुने पनि उनले जानकारी दिए । उनले पदबाट राजिनामा दिनु परेको प्रति दुःख व्यक्त गरेका छन् । जोन्सनले बेलायतका विभिन्न भागलाई विकसित बनाइ अरुसरह बनाउनमा आफूले प्रयास गरेको भन्दै सो कार्यलाई जारी राख्नुपर्ने बताए ।

सन् २०१९ मा ब्रेक्जिटको अजेण्डा लिएर चुनावमा होमिएका जोन्सनले प्रचण्ड बहुमत पाएका थिए तर आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका छन् ।
युरोपभरिमा बेलायत सम्बृद्ध छ भन्ने देखाउनु पर्ने धारणा पनि उनले व्यक्त गरे । प्रधानमन्त्री भएर धेरै ठाउँमा पुगेको, धेरै मानिसहरुलाई भेटेको उल्लेख गर्दै केही क्षणलाई अँध्यारो भए पनि बेलायतको भविष्य सुनौलो रहेको उनको भनाई छ ।
उनले आफ्नो प्रधानमन्त्रीकालमा सहयोग गरेकोमा निजामति कर्मचारी, सेना, प्रहरी, कञ्जरभेटिभ पार्टीका सदस्यहरु सबैलाई धन्यवाद दिए ।
अहिलेको अवस्था राम्रो नभएको र कन्जर्भेटिभ पार्टीका लागि मात्रै नभएर देशकै लागि समेत स्थिति खराब हुन सक्ने भएकोले आफूले प्रधानमन्त्रीलाई अहिले नै उपयुक्त कदम चाल्न जाहावीले अनुरोध गरेका थिए ।






