लण्डन । गल्कोट समाज युकेले बेलायतमा गलकोट हाउस निर्माणको प्रारम्भिक कार्य सुरु गरेको छ । लामो समय देखि बागलुङको गलकोट स्थायी घर भई हाल बेलायतमा रहेकाहरुको साझा संस्था गल्कोट समाज युकेले आफ्नै हाउस निर्माण गर्ने भएको हो ।
मे २९ तारिख सोमबार पूर्वी लण्डन स्थित अरोमाज रेस्टुरेन्टमा सम्पन्न तेस्रो क्षेत्रीय अधिवेशनका अवसरमा उक्त कुराको जानकारी गराईएको हो । गल्कोट हाउस निर्माणका लागि आर्थिक तथा अन्य प्राविधिक कार्यहरु अगाडि बढेको बताईएको छ ।
गृह जिल्ला,गृह नगर तथा नेपालका विभिन्न विपत्तिमा सहयोग गर्दै परोपकारी कार्य गर्दै आईरहेको समाजले आफ्नै हाउस निर्माण पश्चात कार्यसम्पादन गर्न र अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्न सहयोग पुग्ने अपेक्षा लिएको छ।
सम्पन्न तेस्रो क्षेत्रीय अधिवेशनले आफ्नो तेस्रो क्षेत्रीय समिति समेत गठन गरेको छ । लन्डन तथा दक्षिणी बेलायतका क्षेत्रमा बस्ने गल्कोटेहरुका प्रतिनिधित्व गर्दै उपस्थित गल्कोटेहरुका माझमा गल्कोट समाज युकेका विभिन्न वर्तमान तथा पुर्ब पदाधिकारिहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।
गल्कोट समाज युकेका अध्यक्ष भोजराज कंडेलको अध्यक्षता एवम् समाजका महासचिव बिष्णु चालिसेको सञ्चालनमा सम्पन्न भएको उक्त भेलाले समाजका उपाध्यक्ष डिलाराम गौतमको सयोंजकत्वमा नया समिति गठन गरेको हो ।
जसको सचिवमा राजु सापकोटा ,कोषाध्यक्षमा अन्जु शर्मा काफ्ले, सदस्यहरुमा, ऋषिराम गैरे, सागर गौतम , किरण कंडेल ,र बिष्णु गैरे लगायत ७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा बाँकी रहेका थप तीन सदस्य र सल्लाहकारहरु भने पछि चयन गरिने बताईएको छ । उक्त नवगठित समितिलाई समाजका निवर्तमान अध्यक्ष राजु कंडेल तथा सल्लाहकार प्रेम गैरेले बधाई तथा शुभकामना दिदै नवगठित समितिले बेलायतका दक्षिणी क्षेत्र र वेल्समा बसोबास गर्ने गल्कोटेहरुमाझ समन्वय गर्दै गल्कोट समाज युकेका गतिविधिमा थप टेवा दिने विश्वास व्यक्त गरेका थिए ।
समाजले स्कटल्याण्डमा गोबिन्दराम कंडेल र मिड्ल्याण्डमा चन्द्र साहनीको सयोंजकत्वमा यस अगाडी नै क्षेत्रीय समिति गठन गरेको थियो ।






