नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि लैजाने प्रक्रिया कहिले हुन्छ सुरु ?

लण्डन । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि ल्याउने प्रक्रिया अब सुरु हुने भएको छ । नेपाल सरकारले केही महिना अगाडी बेलायतमा नेपाली नर्सलाई रोजगारीका लैजाने बताएको थियो ।

त्यसयता कुनै औपचारिक प्रक्रिया सुरु हुन नसकेकोमा अब एक महिनाभित्र नेपाल र बेलायत सरकारबीच नर्स लैजाने विषयमा सहमतिपत्रमा हस्ताक्षर हुन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

उक्त सम्झौता पश्चात मात्रै नेपाली नर्स रोजगारीको लागि बेलायत जाने बाटो खुल्नेछ । ‘फ्रि भिसा फ्रि टिकट’मा पहिले दुई हजार नर्सलाई बेलायत पठाउने तयारी भइरहको प्रवक्ता घिमिरेले बताए ।

मुख्यसचिव सोमलाल सुवेदीले नेपालबाट विदेशमा नर्स पठाउँदा विदेशी ज्ञान र सीपको विकास हुने भए पनि नेपालमा नर्सको वर्तमान अवस्था बुझेर मात्र निणर्य लिनुपर्ने बताए । सरकारले नेपालमा रहेका नर्सको वास्तविक तथ्याङ्क पहिचान गरेर मात्र विदेशमा नर्स पठाउने वा नपठाउने तय गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा अध्ययन गरेर पासआउट भएका नर्स नेपालमै टिकाउने गरी सरकारले वातावरण सिर्जना गर्न आवश्यक रहेको भन्दै उनले अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नर्स विदेश पलायन हुने क्रम बढ्ने र यसले नेपालमा नर्सको अभाव सिर्जना हुने धारणा राखे ।