काठमाण्डौ । तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आउँदै छन् ।
दिउँसो साढे ३ बजे वाङ नेतृत्वको टोली भारतको नयाँदिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी हिजो भारत आइसकेका छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका वाङ पर्सिसम्म नेपालमा रहनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भोलि भने परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै करिब १ दर्जन विषयमा सम्झौता हुने बताइएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि वाङले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गरेपछि चीनका तर्फबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।






