जग्गा बेच्न नदिएपछि १ लाख साथीलाई दिएर आफ्नै आमाको हत्या गर्न लगाए

पोखरा । पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले हत्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले हत्या गरिदिएका हुन् ।

चैत ४ गते बिहान उनले साथीसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि आमाकै हत्या गरेको पाइयो ।

आमाको हत्याका लागि ओमले सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई योजना सुनाए । कुमारलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले हत्या गरेको तिवारीले बताए ।

यसरी भयो घटना

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । आमाले मानिनन् । ओमले जसरी पनि जग्गा बेच्नुपर्ने भएपछि आमालाई तगारोबाट हटाउने सोच बुने । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर रक्सी पिए । सोही क्रममा योजना बनाए ।

भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई हत्या गरिदिन कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको हत्या भयो । भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको हत्या भएको देखेर हारगुहार गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।’

प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुवैजनालाई फौजदारी अपराध संहिता अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

दुवैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँटीमा नीलडाम र अनुहारमा चोट लागेको थियो ।