धरान । हत्या गरेर फालिएको अवस्थामा जेब्रामा मानिसको टाउको र दाहिने खुट्टा फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका-४ मा स्थित धरान धनकुटा सडक नजिकै जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको हो ।
दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा मानिसको टाउको र खुट्टा भेटिएको जिल्ला प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त टाउको र दाहिने खुट्टा बरामत गरि शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताए । घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको भनाई छ ।
हत्या गरिएका मानिसको पहिचानका लागि सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुलाई पत्राचार गरिएको डीएसपी कुवँरले बताए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै यदी कसैको घरबाट केही दिन यता कोही व्यपत्ता वा हराएको भए प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।






