काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘पुरानो शक्ति फर्काउन’ भन्दै देश दौडामा निस्किएका छन् ।
सबै प्रदेशमा सांगठनिक अभियान विकेन्द्रित गर्ने गरी अध्यक्ष दाहालसहितको टोली शनिबार दौडाहामा निस्किएको हो ।
बिहीबार पेरिसडाँडामा प्रदेश नम्बर ३ को प्रदेश समिति बैठक आयोजना गरेको एमाओवादीले शनिबार एक नम्बर प्रदेशको भेला इटहरीमा आयोजना गर्दै छ । अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उक्त भेलामा भाग लिन जाने एमाओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
वैचारिक काम व्यवस्थित गर्ने र मुखपत्र प्रकाशन गर्नेलगायत काम अघि बढाउन भेला आयोजना गरिएको सम्पादन मण्डल सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य विश्वभक्त दुलालले जानकारी दिए ।
एमाओवादीले सबै प्रदेशका समितिलाई तीन महिनाभित्र पूर्णता दिइसक्ने योजना ल्याएको छ । राज्य समिति भंग गर्दै सात प्रदेशका छुट्टाछुट्टै समिति निर्माण गरेको एमाओवादीले हाल प्रत्येक क्षेत्रमा इन्चार्ज र सेक्रेटरी मात्रै तोकेको छ । राष्ट्रिय परिषद्, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिलाई पनि तीन महिनाभित्र पूर्णता दिइसक्ने श्रेष्ठले जानकारी दिए ।






