जुम्लामा जडीबुटी टिप्न गएका २ जनाको मृत्यु

जुम्ला। जुम्लाको पाटनमा जडीबुटी टिप्न गएका २ जनाको चिसोका कारण मृत्यु भएको छ । तातोपानी गाउँपालिकाका ४६ वर्षीय मुन रावत र ३७ वर्षीया देवी शाहीको मृत्यु भएको हो । जडिबूटी टिप्न गएका ३४ जना पाटनमै हिउँमा फसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुई साता अघि सेतक नामको जडीबुटी टिप्न गएका उनीहरु हिउँमा फसेका हुन् । पाटनस्थित तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्लामा उनीहरु फसेको जनाइएको छ । जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाए पनि अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको छ ।

हिउँमा फसेकाहरूको उद्धारका लागि अझै २–३ दिन कुर्नुपर्ने प्रहरीले जनाएको छ । स्थानीयहरु फसेको स्थानमा ४ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ ।