आईएसले इराकी नगर नियन्त्रणमा

बग्दाद,  ९ जेठ । इस्लामिक स्टेटका लडाकूले इराकको पश्चिमी भागमा अवस्थित अन्बर प्रान्तको केन्द्रलाई नियन्त्रणमा लिएपछि अर्को नगर पनि नियन्त्रणमा लिएको छ । यसबीच यस समूहका लडाकूले सिरियामा प्राचीन नगर पालमिरामा सरकार समर्थित सेनाका दर्जनौ सैनिक मारेका छन् ।
इस्लामिक स्टेटका लडाकूले पालमिरालाई दुई दिनअगाडि नियन्त्रणमा लिएपछि दर्जनौँ व्यक्तिलाई हिरासतमा लिई हत्या गरेका छन् । पालमिरा मध्यपूर्वको सबैभन्दा ख्यातिप्राप्त पूरातात्विक स्थलमध्ये एक हो ।
होम्समा बसोबास गर्ने कार्यकर्ता बेबार्स अल–तालायले फेसबुकमा २८० सैनिक तथा सरकार समर्थित लडाकूलाई पालमिरामा मारेको जानकारी दिएका छन् ।
अल–तालायले लडाकूले सैनिक तथा सरकारसमर्थित बन्दुकधारीलाई घर, पसल तथा अन्य स्थानबाट अपहरण गरेको बताए । उनीहरूमध्ये धेरैलाई सडकमा लगी गोली हानी हत्या गरिएको पनि जानकारी दिइएको छ ।
आईएसका लडाकूले लाउडस्पिकरबाट त्यहाँका बासिन्दालाई सेनालाई आश्रय नदिन चेतावनी दिएको र धेरै व्यक्तिले सैनिक लुकेर बसेको स्थानका बारेमा जानकारी दिएको अल–तालायले बताएका छन् ।
बेलायतमा केन्द्रीय कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आईएसका लडाकूले १७ व्यक्तिलाई पालमिरामा मारेको जानकारी दिएको छ । यस संस्थाले अन्य दर्जनौँ व्यक्ति मारिएको अपुष्ट सूचना प्राप्त भएको उल्लेख गरेको छ ।
अब्जरभेटरी तथा अल–तालायले आईएसको अर्को लक्ष्य पालिमरा नजिकै तेफोर हवाई केन्द्र रहेको जानकारी दिएका छन् । यहाँ पालमिराका धेरै सैनिक रहेका छन् । इराकमा सेख राफी अल–फहदावीले इराकी नगर हुसिबा पनि आईएस समूहको नियन्त्रणमा गएको जानकारी दिए ।