मौसममा खराबी भएपछि आन्तरिक हवाई उडान प्रभावित,भरियो विमानस्थल

काठमाडौं। हुस्सु र हिमपातका कारण मौसममा खराबी भएपछि आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । तराईका तीन वटा जिल्लाहरूको उडान प्रभावित बनेको छ । मौसम खराब भएपछि करीव दुई दर्जन उडानहरू प्रभावित बनेका छन् ।

उडानहरू प्रभावित भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक उडानको प्रतिक्षालयमा यात्रुहरूले खचाखच भरिएको छ । हिमपातका कारण हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् । विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमका कारण उडानहरू हुन सकेका छैनन् । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सिमरा विमानस्थलमा मौसममा क्रमिक सुधार भएसँगै खुलेको जानकारी दिएका छन् । लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा हिमपात भएका कारण उडानहरू प्रभावित भएका छन् ।

भिजिविलिटी एक हजार मिटरभन्दा कम रहेकाले उडानमा समस्या भएको प्रवक्ता सिटौलाले बताएका छन् ।उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंको भिजिविलिटी ठीक रहेको छ । जनकपुर, नेपालगञ्ज, चन्द्रपुर, सुर्खेत, पोखरा र तुम्लिङटार विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता सिटौलाले बताएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ भने अहिलेसम्म कुनै समस्या नआएको प्रवक्ता सिटौलाले बताएका छन् ।