काठमाडौँ उपत्यकामा आजबाट स्मार्ट लकडाउन- के गर्न पाइने के नपाइने ?

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ ।

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ ।यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ ।

सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् ।

पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ ।

कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज बनाइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ९३ कोरोना संक्रमितको आईसीयूमा र १९ को भेन्टिलेटरमा गरी कुल ११२ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ५८ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा १२ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा उपचाररत छन् ।

सुदुरपश्चिममा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १९८१ र ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।