शिव भण्डारी
लन्डन ।
रुपाकोट ९, गुल्मी स्थायी निवासी शंकर गैरे र उनकी श्रीमति लक्ष्मी गैरे ७ मेमा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा एकैपटक निर्वाचित भएका छन् । श्रीमान् श्रीमति स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा विजयी भएका हुन् । काउन्सिलरमा विजयीपछि दुवैको डेपुटी मेयरमा पदोन्नति समेत भएको छ ।
निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम श्रीमान् शंकर गैरे डेपुटी मेयर छानिएपछि श्रीमति स्वतः डेपुटी मेयर घोषित भएकी हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।
गैरे दम्पत्तिले सत्तारुढ कन्जरभेटिभका तर्फबाट अत्यधिक मतले जितेका लण्डन नेपाल नूज डटकमले जनाएको छ । शंकर गैरे सन् २०१० मा काउन्सिलरका लागि लडेपनि उनले ६ मतले मात्र पराजय भोगेका थिए । ब्रिटिशहरुको वाहुल्यता रहेको गैरेको क्षेत्रमा एसियन कोही छैनन् ।
गैरे सन् २००५ यता पार्टीमा सक्रिय रुपमा क्रियाशिल छन् । सन् १९९४ मा पढ्न बेलायत आएका उनको यहां नेपाली समुदायसंग पनि निकट सम्वन्ध छ । यती नेपाली एसोसिएसन यूकेको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका उनी नेपाली साहित्य विकास परिषद यूकेमा तीन कार्यकालसम्म सहअध्यक्ष थिए । नेपाल छंदा भलिवलका राष्टिय खेलाडी थिए उनी । हाल बेलायतमा उनको हेक्नी क्यारेज ब्ल्याक क्याब व्यवसाय छ ।
उता, सन् १९९७ मा बेलायत आएकी श्रीमति गैरे काउन्सिलरमा निर्वाचित हुने पहिलो नेपाली महिला भएको गैरे परिवारको विश्वास छ । उनी सन् २०१० देखि पार्टीमा लागेकी हुन् । गैरे दम्पत्तिका दुई छोरा छन् ।
निर्वाचित भएपछि गैरेले स्थानीय काउन्सिलको विकास योजना, अपराध नियन्त्रण, रेलवे लगायत सेवा विस्तारमा समय दिने अठोट व्यक्त गरेका छन् । निर्वाचित काउन्सिलरहरुको पहिलो बैठक आगामी १ जुनमा हुंदैछ ।






