बेलायतमा १ लाख पुरस्कार दिदै भब्य रुपले मनाइँयो ३०० औँ पृथ्वी जयन्ती “कसले के भने ? (भिडियो सहित)

शिब भण्डारी

लण्डन । बेलायतमा श्री ५ पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाईएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा बेलायत र नेपालका कयौं वुद्धिजिवीहरुको सहभागितामा जनवरी ११ पौष २७  मंगलबार बिहान ३०० औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भर्चुअल रुपमा मनाइएको हो ।

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो क्रममा रहँदा सरकारी नियम पालना गर्दै सार्वजनिक भेला नगरी भर्चुअल कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष भरत  रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जंगमान गुरुङ,विशेष अथिति लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल,प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी, नागरिक समूह नेपालका अध्यक्ष निगम-हुमगाई,लन्डन बरो अफ हाउन्स्लोका ५६ औं मेयर विष्णु गुरुङ,बुद्धिजिवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), लगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर,नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याल,नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह,बुद्धिजीबी शिवजी श्रेष्ठ,,यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी,समाजसेवी साहित्यकार बिभिन्न कृतिका लेखक विकल चन्द्र आचार्य,तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष तथा सल्लाहकार डेविड गुरुङ,एनआरएनए यूकेका पूर्व महासचिव फडिन्द्र भट्टराई,नेपाल प्रहरीका पूर्व डिएसपी पत्रकार बाचस्पति रेग्मी,  नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष धन बहादुर सार्की,वंशज नागरिकता निरन्तरता महा-अभियानका संयोजक खगेन्द्र पाठक,समाजसेवी- ब्याबसायी कृष्णजंग साह,गोर्खाली समाज युकेका अध्यक्ष कर्ण बहादुर दर्लामी मगर,साहित्यकार हरिसिंह थापा, समाजसेवी साहित्यकार एबम कबि रेसम अर्याल,  ठकुरी समाज यूकेका अध्यक्ष, राम राजा मल्ल, गोपी सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. गुरुङले पृथ्वीनारायण शाहले विभिन्न जातजातीहरुलाई एक गरी सैन्य शक्ति बनाइ देश एकीकरण गरेको बताए । सिन्धुलीगढीको लडाईमा शाहले विश्वको कुनै पनि देशमा नहारेका अँग्रेजहरुलाई परास्त गरेको भन्दै उनले प्रयोग गरेको सैन्य रणनीति निकै उत्कृष्ट रहेको बताए ।  यस्तै राजनैतिक विश्लेषक डा. केसीले पृथ्वीनारायण शाहका बारेमा चर्चा गरे ।

पृथ्वीनारायणले गोरखा राज्य मात्र विस्तार गरेको भए आज देशको नाम नै गोरखा अधिराज्य हुने भन्दै त्यसरी नबुझ्न आग्रह गरे । उनले गोरखा राज्य विस्तारबाट शुरु भएको अभियान नेपाल देश बनाउने कुरामा टुंगिएको बताउँदै शाहलाई गोर्खा राज्य विस्तारक नभनी नेपाल एकीकरण गर्ने व्यक्तिको रुपमा सम्मान गर्नुपर्ने बताए । नागरिक समूह नेपालका अध्यक्ष निगम हुमागाईंले पृथ्वी नारायण शाहको व्यक्तित्व तथा ऐतिहासिक पक्षबारे धारणा राखेका थिए । देश चार जात छत्तीस वर्णको फूलबारी हो भन्ने शाहले सबैको अस्तित्व कायम राखेको जनाए ।

उनलाई राजनीतिक वाद, पार्टी वा भेदभावभन्दा माथि राखेर राष्ट्र निर्माणकर्ताका रुपमा हेरिनुपर्नेमा पनि जोड दिए । समाजसेवी मदन थापाले कार्यक्रमको सुभारम्भमा मंगल धुन सहित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले पृथ्वीनारायणको योगदानको सबैले सम्मान गर्दै पृथ्वीनारायण शाहले  देशमा पुर्याएको जुन योगदान छ, त्यसकारण आज हामी स्वतन्त्र र स्वाभिमानी नागरिक बन्न पाएका छौँ। त्यस्तै केही वक्ताले कविता वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष भरत क्षेत्रीको स्वागत रहेको कार्यक्रमको औपचारिक कार्यक्रमको सञ्चालन ‘रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी’ (आरजीएनएस)का अध्यक्ष जित रानाभाटले गरेका थिए । संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर र सम्मान गर्नुपर्ने बताउँदै शाहको योगदानले मात्रै देश आज एकीकृत भएको बताए । कुनै पनि देशले नेपलमाथि धावा बोलेको सहन नसकिने भन्दै यसका विरुद्ध सबै नेपाली एक भएर लाग्नुपर्ने बताए ।

उनले देशमा अहिले आतंककारीहरुको शासन चलिरहेको भन्दै यिनीहरुलाई परास्त गरेर युवाले देश हाक्ने युग आएको समेत जनाए । ‘हामी युवा कार्यकर्ताले यो देश बचाउनुपर्छ, पृथ्वीनारायणले अर्जेको देश जस्ताको तस्तै हाम्रा सन्ततिलाई दिनुपर्छ, उनले भने । बेलायतमा सन् २००७ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका अध्यक्ष क्षेत्रीले घोषणा गरेको ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा १ लाख रुपैयांको पृथ्वी पुरस्कार विशेष वक्ता राजनैतिक विश्लेषक डा सुरेन्द्र केसीले प्राप्त गरेका छन् ।

विगतका बर्षहरुमा भौतिक रुपमै उपस्थित भई भव्य समारोहका साथ कार्यक्रम गर्ने गरिएको भएपनि यसबर्ष विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारीको कारण अनलाइनबाटै मनाइएको होे । उक्त कार्यक्रमको लण्डन नेपाल न्यूजको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

( पुरा भिडियो हेर्नुस )

https://www.facebook.com/londonnepalnews/videos/460470759012503