काठमाडौं । नेपाल सरकारले सरकारले नेपाल प्रवेश गर्दा कोभिडविरुद्धको खोप नलगाएका मानिसहरुले पनि क्वारेन्टीन बस्न नपर्ने निर्णय गरेको छ ।
विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गत मंसिर १६ गतेदेखि नेपाल प्रवेशमा कडाइ गरिएपनि सरकारले ती मापदण्डहरुलाई खुकूलो बनाएको हो ।
मन्त्रिपरिषद्को पुस ८ गते बसेको बैठकले यसअघि जारी आदेश संशोधन गर्दै विभिन्न निर्देशन जारी गरेको छ।
अब पूर्ण खोप लगाएको १४ दिन पुगेका र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले होटल क्वारेन्टिन बस्नु नपर्ने भएको छ। उनीहरुलाई घरमै क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने निर्णय भएको छ।
खोपको मात्रा पुरा नगरेका वा खोप लगाएको १४ दिन नभएका नेपाली नागरिकहरुको प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ देखिए घर पठाउने निर्णय भएको छ।
यस्तै, खोपको मात्रा पुरा नगरेका विदेशी कुटनीतिक नियोग वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुलाई पनि नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ देखिए होम आइसोलेसनमा पठाउने निर्णय भएको छ।






