विश्व खाद्य कार्यक्रमले राहतमा पठायो कुहिएको चामल

नुवाकोट ४ जेठ  । 

नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रममार्फत् वितरण गरेको चामल अखाद्य भएको भेटिएको छ । राहतका नाममा बाँडिएको चामल कालो र डल्ला परेको भेटिएपछि पीडित आक्रोशित भएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा आइतबार दलका प्रतिनिधिले गुणस्तरहीन चामल वितरण भएको भन्दै आक्रोश पोखेका थिए । विदुर नगरपालिका–४ र सुनखानी गाविसमा वितरण भएको चामल कालो र डल्ला परेको फेला परेको हो ।

भूकम्पपीडितका लागि दिइएको चामल कुहिएर कालो भएको र डल्ला परेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत कृष्ण पुडासैनीले बताए । ‘चामल हेर्दा कालो र डल्ला परेका छ, खान हुने नहुने भन्न सकिन्न,’ अधिकृत पुडासैनीले भने ।