शिव भण्डारी
गुल्मी । नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर २ प्रदेश खको सभापतिमा रेखा कुमार जिसी निर्वाचित भएका छन् ।
शुक्रवार प्रथम अधिवेशनमा भएको निर्वाचनको क्रममा प्रतिस्पर्धी रविन्द्र घिमिरेलाई पराजित गर्दै जिसी सभापति भएका हुन् ।
कुल ३८३ मत खसेकोमा सभापतिमा जिसीले २२९ मत पाएका छन् भने घिमिरेले जम्मा ११६ मत पाए । त्यस्तै ६ जनाको मत बदर भएको थियो भने दुवै जनालाई भोट नहाल्ने संख्या ३२ रहेको छ । अन्य पदमा भने सर्वसम्मतीले नेतृत्व चयन भएका थिए ।
कार्यक्रममा पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेनको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारी, महाधिवेशन प्रतिनिधि छन्द पहराई, शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेनले नेपाली काँग्रेसलाई यो महाधिवेशनले अझै सशक्त ढंगबाट अघि बढाउने दायित्व र जिम्मेवारी प्रदान गरेको बताउँदै नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरे ।
उनले संघीयताको कार्यान्वयन सँगै पहिलो पटक प्रदेश क्षेत्र अधिवेशन भएको भन्दै यसरी निर्वाचित भएका नेताहरुले सबैलाई समेटेर पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन लालमणी भण्डारीले गरेका थिए ।
हेरौं तस्वीरहरु













