लण्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् ।
यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिने क्रम रोकिएको छैन । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका छन् ।
अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएका थिए । शनिबार भेटिएका समेत गरी बेलायतमा अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ ।
पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य विभागले हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेको जनाएका छन् ।






