लण्डनबाट जन्मभूमि पुगेर गाँउ -गाँउमा पानीका धारा जोड्दै धनबहादुर (भिडियोसहित)

लण्डन । लन्डनस्थित समाजसेवी तथा उद्यमी एबम पूर्व गोर्खा सैनिक धन बहादुर सार्कीले आफ्नो समाजसेवाको घेरालाई  फैलाउँदै लगेका छन् ।

बेलायतका थुप्रै संघसंस्थाहरुमा कुशल नेतृत्व प्रदान गरेको एक सक्षम र प्रगतिशिल व्यक्तित्वको छवि बनाएका सार्कीले बेलायतका नेपाली समुदाय मात्र होइन नेपाल र नेपालका दर्जनौं जिल्लाहरुमा आफ्नो महानता देखाएका छन् ।

आमाको काख छोडेर तरक्की गर्ने दाउमा परदेश होमिएका उनले अहिले समाजसेवाको अग्रपंक्तिमा आँफूलाई उभ्याउन सफल भएका छन् । बेलायतको नेपाली समुदायमा सार्कीको नाम नसुनेका मानिसहरु शायदै नहोलान् । उनको प्रशंसा नगर्ने व्यक्तिहरु पनि शायदै ।

सफलता र प्रशंसाबाट नमात्तिने,कुनै पदको लोभ नगर्ने,जब्बर स्वभाव बोकेका सार्कीले यतिबेला नेपाल र नेपालीहरुको कल्याणको निम्ती आफ्नो जीवन नै समर्पित गरेका छन् ।

गोरखामा जन्मिएर चितवनको भरतपुर महानगरपालिका–२१ को पार्वतीपुरमा किशोरावस्था बिताएका उनले बेलायतको आर्मीमा भर्ती भए । १५ बर्षको जागिर आर्मीमा बिताइसकेपछि समाजसेवाको बाटो समात्ने निर्णय गरे ।

१५ बर्षको आर्मी सेवाबाट निवृत भएपछि बेलायतमै उच्चशिक्षा लिएका उनको मन मस्तिष्कमा सधैं ‘जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी’ भन्ने श्लोक गुन्जिरहन्छ । सोही श्लोकलाई शिरोधार्य गर्दै समाजसेवाको लामो यात्रामा उनी दौडिरहेका छन् ।

२००१ मा रिटायर्ड भएका उनले त्यसपछि उच्च शिक्षा लिए । सोही क्रममा आफ्नो एक् दलित साथीको परिवारमा परेको समस्याले आफूहरु संगठित हुनुपर्ने भन्ने लागेर नवजागृति नेपाली समाज युकेको स्थापना गरेका थिए । सोही संस्थामार्फत उनले समाजसेवाको यात्रा प्रारम्भ गरेका थिए ।

२००७ मा सिर्जनशील नेपाल समाज युकेको स्थापना भयो । उनी त्यसबेला पनि संस्थापक उपाध्यक्षको रुपमा काम गरे ।

सन् २०१९ मा उनी नेपाली वेयलफेयर सोसाईटी यूकेको स्थापना गरेका थिए । गास, बास र कपासको समस्याबाट ग्रस्त नेपालीहरुको घरमा केही पेट भर्न, न्यानो दिन उद्धेश्य सहित यस संस्थाको परिकल्पना गरेको बताए । अभियानले स्वदेशका दर्जनौ जिल्लामा हजारौ नागरिकलाई राहत बाड्न सफल भए ।

त्यस्तै एनआरएनए यूके उपाध्यक्षमा उपविजेता बनेपनि कार्यसमिति सदस्यमा रहेर काम गर्दै नेपालीहरुको मन जित्ने गरी समाजसेवाको बाटोमा कुनै दिन पछि परेनन् ।उनी अहिले नेपाल उत्पीडित जातीय समाज युरोपको बर्तमान उपाध्यक्ष समेत छन् ।

नेपाली वेयलफेयर सोसाईटी यूकेका अध्यक्ष रहेका उनले आफ्नै पहलकदमीमा ‘बाँचौ र बचाऔं’ भन्ने अभियान सञ्चालन गरे । आफू संयोजक रहेको उक्त अभियान मार्फत बेलायतमा कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण सकसमा परेका हजारौं नेपालीहरुको सहयोग गरे । नेपालमा दर्जन बढी जिल्लाहरुमा उनले सोही अभियानमार्फत ‘खाना र नाना’को प्रबन्ध गरिदिए । केही महिनाको निम्ती भएपनि गरिब दुःखीको चुल्होमा आगो बाल्ने प्रयत्न गरे ।

केही हजार परिवारलाई सहयोग पुर्याउने ध्येयले सुरु गरेको अभियानले उनलाई नेपालमा नेपाली कुन अवस्थाबाट गुज्रिएर बाँचिरहेका छन् भन्ने कुरा बुझ्ने मौका मिल्यो ।
गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायत विकासका आधारभूत पूर्वाधारहरुको अभावमा नारकीय जीवन जिउन बाध्य भएका नेपालीहरुको अवस्थाबारे बुझेर उनले आफूले सक्ने पहलकदमी लिएर उनीहरुको जीवनस्तर उकास्ने महाअभियान नै चलाएका छन् ।

‘म आफुले कति सक्छु, थाहा छैन । तर सकेसम्म सबैसँग सहकार्य गर्छु, र त्यस्ता विपन्न समुदायको जीवनस्तर उकास्न मद्धत पु-याउँछु भन्ने लागेको छ,’ उनी भन्छन् । उनी अब विपन्न परिवारको जीविकोपार्जन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा गर्न उत्साहित छन् ।

सार्की अहिले नेपालमा छन् । आफ्नो समाजसेवाको अभियानको क्रममा नेपालका विभिन्न क्षेत्रमा पुगेका उनले यतिबेला आफुले बालउमेर बिताएको गाउँ पार्वतीपुरमा ‘शुद्ध पानी बितरण अभियान’ थालेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. २१ मा पर्ने उक्त गाँउमा खानेपानीको समस्या समाधान गर्नको निम्ती उनले अभियान शुरू गरेको बताए । ‘आफूले बालापन विताएको क्षेत्रमा अझै सम्म पनि खानेपानीको समस्या रैछ’, उनले भने, ‘यो समस्या समाधान गर्नको निम्ती अभियान सञ्चालन गर्यौं, काम धमाधम भइरहेको छ ।’

त्यस क्षेत्रमा गरिब र दलितमात्रै होइनन्, सयौँ परिवार सुकुम्बासी समेत छन् । पानीकै अभावको कारण यस क्षेत्रका मानिसहरुको स्वास्थ्य जीवनशैली नराम्रोसँग प्रभावित भएको भन्दै उनले पानी अभियान चालेको बताए ।

धनबहादुरले पार्वतीपुरका १० घर परिवारलाई घर–घरमा धारा जोडिदिएका छन् । रंगिलाका शंकर नेपाली, पार्वतीपुरका मञ्जु नेपाली, सोमबहादुर सार्की, हेम भट्ट, राममाया विक, मंगलबहादुर विक, रतनपुरका माया सार्की, पारिलोटारका लुरे विक, सितापुरका सुकबहादुर विक र कञ्चनबस्तीका मनोज भुजेलको घरमा धारा जडान गरिदिएका छन् । उनले अब करिब तीन सय परिवारलाई लक्षित गरी शुद्ध पानी वितरण अभियान चलाउने बताए ।

सो वडाका कार्यवाहक अध्यक्ष कृष्णकुमार गुरुङले पनि सार्कीले गरेको समाजसेवाको यात्रालाई सम्मान व्यक्त गर्दे आभार व्यक्त गरे । आफूहरुले वडाका समस्या समाधान गर्ने काममा धनबहादुरले दिएको साथप्रति सधैं कृतज्ञ रहने उनको भनाई छ ।

पार्वतीपुरमै रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा पनि उनले अक्षयकोष स्थापना गरिदिएका छन् ।

समाजसेवी सार्कीले आफुले १० परिवारलाई घरमा धारा जडान गरिदिएको भन्दै बाँकी सबै परिवारका लागि हुने गरी सहयोग गर्न सबैसँग आग्रह गरे ।

लण्डन नेपाल न्यूजसँग उनले भने, ‘‘म लण्डनमा बस्छु । तर, म जन्मेको माटो  हो,पार्वतीपुर। आफ्नो माटोको माया कसलाई हुदैन र ? त्यसैले मलाई आफु भौतिकरुपमा यहाँ रहन नसकेपनि नेपाल र नेपालीको सेवा गर्न मन पर्छ, त्यसैले दुःख पीडामा परेका नेपालीहरुलाई मद्धत गर्दै आएको छु,’ उनी भन्छन्, ‘मैले सक्ने त गरिरहेकै छु । म यस्तो काममा हातमा हात मिलाउन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’

आफूले एसएलसी उत्तीर्ण गरेको विद्यालयमा उनले कोषमा दुई लाख १० हजार रुपैयाँ जम्मा गरेर कोषको सुरुवात गरेका छन् । विद्यालयमा अतिविपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन उक्त रकम खर्च हुने विद्यालयले जनाएको छ ।सार्कीले पावतीपुरकै अर्को स्कुल श्रीआधारभूत विद्यालयमा पनि खेलकुद सामाग्री खरिद र सञ्चालनकालागि रु ५०,००० सहयोग गरेका छन् ।

बेलायतमा सार्कीले पोष्ट अफिस,(हुलाक) एबम आउटपोष्ट कफी शप लगायत विभिन्न व्यवसायहरु गरिरहेका छन् ।युवा नेपाली व्यवसायीका रुपमा स्थापित सार्कीले व्यवसायसँगै सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् ।

भिडियो हेर्नुहोस् :-