एनआरएनए आईसीसी महिला संयोजकमा कोरियाबाट जुनु गुरुङको शक्तिशाली उम्मेद्वारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को महिला संयोजकमा कोरियाबाट जुनु गुरुङले उम्मेद्वारी घोषणा गरेकी छन् ।

एनआरएनमा लैङ्गिक समानता, सशक्तिकरण, महिला नेतृत्व विकास, समावेशी तथा पारदर्शिता भन्ने नारासहित अक्टोबरमा कार्यकाल २०२१–२०२३ को लागि हुन लागेको उक्त सम्मेलनमा दक्षिण कोरियाबाट उनले उम्मेद्वारी दिएकी हुन् ।

कोरियामा रही रेष्टुरेन्ट क्षेत्र, मार्ट, नेपालमा विभिन्न व्यवसायहरु, जलविद्युत, शिक्षा र हस्पिलिटी क्षेत्रमासमेत लगानी गरेकी उनले समाजसेवी मात्र नभएर सफल व्यावसायीको पहिचान समेत स्थापित गरेकी छन् ।

एनआरएनए दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेलेकी उनले वमेन फर वमेनको अध्यक्षको रुपमा भूमिका निर्वाह गरिन् । त्यसबाहेक दर्जनौ नेपाली संघसंस्थाहरुमा कुशल नेतृत्व प्रदान गरेकी उनले आफ्नो कामको दायरालाई फराकिलो बनाउँदै अघि बढ्नेगरी महिला संयोजकमा उम्मेद्वारी दिएको बताइन् ।

कोरियन सरकारले मानार्थ नागरिकताबाट सम्मान प्राप्त गरेकी उनले सन् २०१० देखि २०१४ सम्मको समयमा कोरियाको एक मात्र महिलाहरुको साझा संस्थाको रुपमा रहेको वेमन फर वेमन (महिलाको लागि महिला) को संस्थापक अध्यक्षमा रहेर काम गरिन् । सो अवधिमा गुरुङले कोरियामा समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार गर्न नेतृत्व गरिन् ।

‘मैले हालसम्म दिदीबहिनीहरुको पक्षमा धेरै काम गरेकी छु, र अब एनआरएनए मार्फत यसको क्षेत्र फराकिलो बनाउन चाहान्छु’, लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै उनले भनिन्, ‘मलाई महिला संयोजकको रुपमा विश्वभर रहेका नेपाली महिलाहरुको पक्षमा काम गर्ने अवसर दिनुहुनेमा विश्वस्त छु ।’

नेपालबाट म्यारिज ब्यूरो गरी कोरिया जाने महिलाहरुले कोरिया पुगेपछि धेरै नै समस्या झेल्नुपर्ने अवस्थामा पुगेका महिलाहरुलाई उद्दारदेखि लिएर उनीहरुको समस्या समाधान गर्न रातदिन नभटी खटिई समस्याको समाधान गर्न अग्रणी भूमिका निर्वाह गरेको अनुभव उनले सुनाइन् ।

‘कोरियामा धेरै महिलाहरुलाई उद्धार गर्ने कार्यमा हामी लाग्यौं’, उनले भनिन्, ‘उहाँहरुको आशिर्वादलाई बोकेर अघि बढ्ने साहस आएको छ ।’

गुरुङले कोरियामा समस्या परेर दुःख पाएका झण्डै एक हजारभन्दा बढी नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गरेकी थिइन् ।

‘मलाई यसप्रकारको समस्या पर्यो भन्दै मेरो सम्पर्कमा आउनुभएका र बाहिरी सम्पर्कबाट जानकारीमा आउनुभएका धेरै महिलाहरुको उद्धार कार्य गरियो, उहाँहरुले अहिले शान्तिको श्वास फेर्न पाएको देख्दा धेरै खुशी लाग्छ, अझै काम गर्न मन लाग्छ’, लण्डन नेपाल न्यूजसँग उनले भनिन् ।

बेरोजगार, विरामी, असहाय नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई सेल्टरमा राखी प्रत्येक महिनाको एक पटक निःशुल्क स्वास्थ्य सेवा प्रदान, कोरियन भाषा नजान्ने नेपालीहरुलाई निःशुल्क भाषा सिकाउने क्लास, नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई भेला गरी नेपाली संस्कृति झल्कने कार्यक्रम आयोजना लगायतका थुप्रै काम गरेकी उनको भूमिकालाई लिएर कोरियामा रहेका नेपालीहरुले उच्चकोटीले सम्मान गर्दछन् ।

कला संस्कृतिको संरक्षण, खेलकूद, इत्यादिमा समेत कार्यक्रम गरेकी उनले आफू बाँचुन्जेल समाजको निम्ती पनि केही गर्नुपर्छ भन्ने भावना सदैव रहने बताइन् ।

गुरुङले २०७२ सालको नेपालमा आएको विनासकारी महा—भूकम्पको बेला नेपालीहरुलाई परेको आपतविपत्तमा कोरियामा नै रहेर करोडौं रुपैयाँ बराबरको राहत उपलब्ध गराएकी थिइन् । गुरुङले कोरियाबाटै विभिन्न संघसंस्था, एनआरएनएलगायतको सहकार्यमा नेपालीहरुलाई परेको आपतविपत्तमा करोडौं रुपैयाँ सहयोग गरी उनीहरुलाई परेको विपत्तमा मल्हम लगाउने कार्य गरेकी थिइन् ।

गुरूङले अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक (२०१७–२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुँदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन् ।

वमेन फर वमेनको संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई एक्टिभ गराउन सफल गुरुङ अब महिला उद्यमशिलताको बिषयलाई लिएर उम्मेदवारी दिने भएकी छिन् ।

गूरुङको कार्यकालमा एशिया प्रशान्त क्षेत्रको पहिलो र दोश्रो महिला भेला÷बैठक गराउनसमेत सफल बनेकी थिइन् । सोही अनुभवलाई लिएर गुरुङले एनआरएनए आईसीसी महिला संयोजकमा काम गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

कुल आचार्यको प्यानलमा चुनावमा जान लागेकी उनले एनआरएनमा महिला समावेशी, एनआरएनमा महिला नेतृत्व बिकास, एनआरएनमा महिला सशक्तिकरण र एनआरएनमा महिला उद्यमशिलता लगायत ५ मुख्य एजेन्डा र अहिले मुख्य आवश्यकता रहेको बताइन् ।

के छन् गुरुङका एजेन्डाहरु ?

  • महिला उद्यमशिलता वृद्धि गर्दै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने,
  • एनआरएनएमा महिलाको नेतृत्व स्थापित गर्न सांगठनिक सुदृढीकरण अभियान चलाउने,
  • महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउने, उनीहरुको आर्थिक तथा व्यवसायिक जीवन बलियो बनाउने,
  • महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता गराउने,
  • एनआरएनमा लैङ्गिक समानता सशक्तिकरण, महिला नेतृत्व विकास, समावेशी तथा पारदर्शिता कायम
  • महिलाहरुलाई एकतावद्ध गर्दै संस्थागत नेतृत्व क्षमता वृद्धि गर्ने, इत्यादि

महिलाहरुको अधिकार स्थापित गर्न लामो समयदेखि लड्दै आइरहेको भन्दै उनले महिलाहरुकै निम्ती आफूले उम्मेद्वारी घोषणा गर्न लागेको बताइन् ।

‘महिलाहरुको समस्या बुझेको र उनीहरुको समस्याको समाधानको निम्ती लामो समय लडेको हुनाले आगामी कार्यकालमा मलाई महिला संयोजकमा जिताउनुहुनेछ भन्नेमा आशावादी छु’, उनले भनिन् ।