लन्डन पशुपतिनाथ मन्दिरको यस्तो देखियो चेलीहरुको तीज (फोटो/भिडियो)

शिब भण्डारी /प्रकाश कंडेल

लन्डन । नेपाली हिन्दू महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसरमा यस बर्ष साउथ ईष्ट लन्डनको प्लमस्टिडमा तीज विशेष कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।

पशुपतिनाथ मन्दिरको आयोजनामा भएको उक्त कार्यक्रममा सयौं नेपाली दिदीबहिनीहरुले उल्लासका साथ पूजा आजा सहित नाँचगान गरी तीजको अन्तिम दिन विहिबार रमझमका साथ तीज मनाए ।नेपाली महिलाहरु रंगिचंगी पहिरहन र गरगहनाले सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।

पशुपतिनाथ मन्दिरले आफ्नो सस्कार,संस्कृतिलाई जगेर्ना गर्ने हेतुले नेपाली महिला हरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष समारोह आयोजना गर्र्दै आएको छ । गत बर्ष कोभिड महामारीको कारण हुन नसकेको सो कार्यक्रम यस पटक उल्लासका साथ सञ्चालन गरिएको थियो । यद्यपि सरकारले तोकेका मापदण्डहरु भने पूर्ण रुपमा पालना गरिएको थियो ।

प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रममा पण्डित निलहरि घिमिरेले पूजा पाठ गरेपछि कार्यक्रम औपचारिक सुरु भएको थियो । तीज विशेष कार्यक्रम मन्दिरका अध्यक्ष दाँसुराम पाण्डेको अध्यक्षमा सञ्चालित कार्यक्रममा कार्यक्रम सञ्चालक जीवन वाग्लेले स्वास्थ्य मापदण्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको पहिलो सत्रमा ब्रतालु महिलाले सामुहिक पूजा गरेका थिए ।

सयौँ नेपाली  दिदीबहिनी सहभागी तीज विशेष कार्यक्रममा नेपाली दिदीबहिनीहरु नाचगानमा रमाएका थिए । हिन्दू नारीहरुको पर्व तीजको अवसरमादिदीबहिनी शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम पनि रहेको थियो । पञ्चकन्याका साथमा स्वथी बाचन गरिएको कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, राजदूत लोकदर्शन रेग्मीकी धर्मपत्नी चन्द्रा रेग्मी तथा अध्यक्षले संयुक्त रुपमा पानसमा वत्ती बालेर उद्घाटन गरेका थिए ।

उपाध्यक्ष तथा पूर्व महिला संयोजक सरिता पौडेलको स्वागत रहेको उक्त कार्यक्रममा नेपाली र अँग्रेजी दुवै भासामा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनालले तीज पर्वको शुभकामना दिदै तीज पर्वले महिला शसक्तीकरण बढाउँदै महिलाहरुको पहिचान स्थापित गर्न कोशेढुँगा सावित हुने विश्वास व्यक्त गरिन् । महिलाहरु कोही भन्दा कम नभएको र गर्न चाहेको खण्डमा ठूला ठूला सफलताहरु हासिल गर्न सक्ने भन्दै उनले महिलाहरु शसक्त भएर उभिनुपर्नेमा जोड दिइन् । नेपाली मौलिक कला संस्कृतिको प्रबद्र्धन तथा सम्बद्र्धन गर्ने अभियान स्वरुप पशुपतिनाथ मन्दिरले गरेको यस कार्यक्रमप्रति आभार व्यक्त गरिन् ।

त्यस्तै अध्यक्ष दाँसुराम पाण्डेले लामो समयदेखि मन्दिरको आयोजनामा तीजविशेष कार्यक्रम गरिएको भन्दै यसपटक कोभिडको कारण ठूलो उपस्थिती हुन नसकेको बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उनले कला संस्कृति संरक्षणको अभियानमा मन्दिर व्यवस्थापन समिति निरन्तर अघि बढ्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष होम शर्मा,ट्रष्टी संयोजक कर्ण शाही,संरक्षक पण्डित निलहरि घिमिरे,प्रथम महिला ट्रष्टी तथा सत्संग संयोजक तारा भट्टराईले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी ब्रतालु महिलाहरुको लागि निशुल्क फलफूल तथा पानी, जुस सहितका पेय पदार्थको प्रबन्ध गरिएको थियो ।कार्यक्रमलाई सफल बनाउन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासु पाण्डे, उपाध्यक्ष सरिता पौडेल, सचिव जीवन वाग्ले, कोषाध्यक्ष भोजराज कंडेल, सह–सचिब राधा खरेल, ट्रष्टी दुर्गा पाण्डे,सदस्यहरु  रोमनाथ पाण्डे, राधा सापकोटा, हिरा प्रसाद ओझा, बिष्णु ज्ञावली, शालिक सापकोटा, मन्जु गौतम, सत्संग संयोजक तारा भट्टराई, एबम नारायण खरेलको टोली बिहानैदेखि सक्रिय रुपमा खटिएको थियो । मन्दिरका प्रमुख पण्डित निलहरी घिमीरे, बिनोद पन्थी र आनन्द लोहनीले पूजा आरधना गराएका थिए ।

कार्यक्रमको पहिलो सत्र सहसचिव राधा खरेलले सञ्चालन गरेकी थिइन् ।डिजे हेम विष्टको साथमा उपस्थित महिलाहरु कम्मर भाचीभाची नाचिरहदा नेपालकै झल्को मेटिएको थियो ।

कार्यक्रमको प्रतक्ष्य प्रसारण लन्डन नेपाल न्यूजले गरेको थियो ।हिन्दू महिलाहरुको महान पर्वको अवसरमा प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।