लण्डन । नेपाली नारीहरुले मनाउने विशेष पर्व हरितालिका तीज नजिकै आइपुगेको छ । विदेशका नेपाली चेलीहरु दर खान र नाचगन गर्नमा व्यस्त छन्।
धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । धार्मिक संस्कारयुक्त यो पर्वमा विवाहित तथा अविवाहित महिलाहरू पनि जन्म घर सम्झेर माइतीको आँगनमा दुःख साट्दै यो पर्व मनाउन पुग्छन् । विशेष गरी रातो पहिरनमा सजिएर वर्ष भरि आफूले कर्म घर तथा परदेशमा भोगेका देखेका दुःख तथा वेदनाका कथाहरू गीतमार्फत प्रस्फुटन गर्ने समेत गर्दछन् ।
यसै क्रममा लण्डनमा बस्ने नेपाली नारीहरुको लागि यस वर्षको तीजमा लण्डनको प्लमस्टिड स्थित एशियन कम्युनिटी सेन्टरमा हरितालिका तीजको उपलक्ष्यमा भव्य पूजाआजा सहित नाचगान र एक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।पशुपतिनाथ मन्दिरको आयोजनामा तीजको दिन (९ सेप्टेम्बर)मा तीज विशेष पूजाआजा तथा नाँचगान सहितको विशेष कार्यक्रम आयोजना गरिएको हो ।
बेलायतमा कोभिड महामारी नियन्त्रण गर्न सरकारले तोकेका मापदण्डहरु अनुसार नै सो कार्यक्रम आयोजना गरिएको मन्दिरका अध्यक्ष दासुराम पाण्डेले बताए । मन्दिरमा ढेड दशकदेखि तीजविशेष कार्र्यक्रम हुँदै आएको छ ।गत बर्ष कोभिड महामारीको कारण स्थगन भएकोे उक्त कार्यक्रम यस बर्ष भने निरन्तरता दिइने भएको हो ।
यसपटक दिउँसो १ बजेबाट नेपाली महिलाहरुले पूजाआजा गर्न पाउनेछन् भने साँझ नाँचगान सहित रमाइलो गरिनेछ । १० बर्ष माथिकाहरुलाई ५ पाउण्ड शुल्क तोकिएको सो कार्यक्रमा आयोजकले निशुल्क पानी र फलफूल प्रदान गर्नेछ।
अध्यक्ष पाण्डेले लण्डन नेपाल न्यूजसँग कुरा गर्दै कोभिड महामारीले पारेको असरका वीच समस्याहरु बिर्सेर दिदीबहिनीहरूलाई भरपूर मनोरञ्जन गराउनका लागि सु-प्रसिद्ध डिजे हेम विष्टको साथमा व्यवस्था गरिको भन्दै सबै नेपालीहरुलाई आग्रह गर्दै सबैको उपस्थितीको निम्ती आह्वान गरेका छन् ।






