नेपालमा घट्दै कोभिड संक्रमण, खोप प्रभावकारी बन्दै

काठमाडौं । नेपालमा पछिल्लो समय कोभिड संक्रमण घट्दै गइरहेको छ । पहिल्लो दुई हप्तादेखि संक्रमितको संख्या घट्दै आइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८७४ छ । होम आइसोलेशनमा ३३ हजार ३३३, आइसीयूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् ।

नेपालमा हालसम्म सात लाख ६१ हजार १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यस्तै नेपालमा कोभिड खोप पनि प्रभावकारी बन्दै गएको पाइएको छ । पहिलो डोज लगाउनेलाई ८० प्रतिशत र दोस्रो डोज लगाएका व्यक्तिहरुलाई ९० प्रतिशतसम्म सुरक्षा मिलेको स्वास्थ्य मन्त्रालयको अध्ययनले पुष्टि गरेको छ ।