काठमाडौं । नेपालमा सरकारले राजनैतिक दल विभाजन सम्बन्धमा अध्यादेश ल्याएसँगै एकैदिन दुई ठूला दलहरु विभाजन भएका छन् ।
नेकपा एमालेको माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दल दर्ता गर्न निवेदन दर्ता गरेसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले समाजवादी नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिए । नेकपा एमाले समाजवादीमा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहेका नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३३ रहेको छ ।
जसमा माधव कुमार नेपाल अध्यक्ष रहेका छन् भने झलनाथ खनाल बरिष्ठ नेताको रुपमा रहेका छन् ।
आयोगमा बुधबार नै जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामको नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता भएको छ । साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएको हो ।
पुराना राजनीतिज्ञ महन्थ ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोसहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ ।
उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ आज जारी गरेसँगै एकै दिन मुलुकको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका एमाले र जसपा विभाजन भई नयाँ दल दर्ताको प्रक्रिया अघि बढेको हो ।
यसअघि दल विभाजन गर्नको निम्ती केन्द्रीय सदस्य र संसदीय दलबाट ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान थियो । तर अहिले सरकारले ल्याएको अध्यादेश अनुसार दुई मध्ये कुनै एकबाट २० प्रतिशत संख्या भए नयाँ दल दर्ता गर्न पाइने व्यवस्था गरिएको छ । जसको कारण दुई दल विभाजित भएका हुन् ।






