किरात राई यायोक्खा बेलायतले भब्य रुपमा मनायो ‘यलम्बर स्‍मृति दिवस’

लन्डन । बेलायतस्थित किरात राई यायोक्खा (कि.रा.या.) ले अगष्ट १ गते आइतबार ‘यलम्बर स्‍मृति दिवस’ भव्य रुपमा मनाएको छ ।

२००४ सालमा स्थापना भएको कि. रा. या. बेलायतले  हरेक वर्ष अगस्ट पहिलो हप्ता किरातीहरुको पहिलो राजा यलम्बर र आफ्ना पुर्खाहरुको सम्झनामा पूजा गर्ने  साथै आफ्ना पितृ पुर्खाहरुको सम्झनामा चुला र भुमेथानको पूजागरी आशिर्बाद लिने गर्छन।

उक्त कार्यक्रममा आफ्ना पुर्खाहरुलाई सम्झने क्रममा उनीहरुले प्रयोग गरी आफ्नो किराति राज्य स्थापना गर्दा प्रयोग गरिएको हतियार, धनुषवाण प्रतियोगिता पनि सम्पन्न गरिएको किरात राई यायोख्या बेलायतका उपाध्यक्ष मेजर योगेश राईले जानकारी दिए ।

सो अवसरमा धनुषवाण प्रतियोगितामा पुरुष र स्त्री को बेग्ला बेगलै समुहमा पहिलो, दोश्रो र तेश्रो प्रतियोगीहरुलाई पुरस्कार साथै कपहरुबाट बिजयीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

किराँत समुदायको भाषा संस्कार तथा संस्कृतिहरुको उत्सवको रुपमा मनाइने यस दिनमा धनुषवाण प्रतियोगिताको साथै शिक्षा वा अन्य  विद्यामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने तथा सामाजिक सेवामा अग्रणी भूमिका खेल्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

यो बर्ष शिक्षातर्फ सम्मान पाउनेमा मेकानिकल इन्जिनियरिङमा विद्याबारिधी गरेकी डा. आशिका राई, बेलायती सेनामा गोर्खालीको स्थान के ? विषयमा बिद्याबारिधी गरेका डा. मुलिबिर राई रहेका छन् ।

त्यस्तै समाज सेवा तर्फ सम्मान पाउनेहरुमा खोटाङ सेवा समाज बेलायतका अध्यक्ष तथा के.आर. वाई यूकेका बोर्ड अफ डिरेक्टर डा. प्रमोद कोयी, तथा खेलकुद बिद्याद्वारा देशबिदेशमा अतुलनीय योगदान गरेबापत सगरमाथा टेकवान्दो डोजाङका प्रमुख मास्टर रास्ट्र राईलाई सम्मान गरिएको थियो ।

सो अवसरमा किराती साँस्कृतिक बाजा ढोल झ्याम्टा बजाउंदै साकेला सिली नाच प्रस्तुत गरेका थिए । साथै किरातिको मुख्य सांस्कृतिक बाजा बिनायोको मुन्धुमी भाकाहरु अग्रज पू्र्खाहरु बाला देबि राई , धर्म कुमारी राई, डिक लछी राई, शान्ती राई, छेत्रकला राईलगायतका पुर्खाहरुले प्रस्तुत गरेका थिए भने विभिन्न सांस्कृतिक मुन्धुमी नित्यहरु सहित साङ्गितिक कार्यक्रमको साथमा रोमान्चक धनुकार्ड खेल सहित कार्यक्रम सम्पन्न भएको थियो।

धनुषबान प्रतियोगितको सन्चालन मेजर भुपजित राईले सन्चालन गर्नु भएको थियो। सो प्रतियोगिताको पुरस्कार कि. रा. या. नेपालको केन्द्रिय सदश्य श्री कपिल राईको साथै प्रमुख अतिथीज्यूको हातबाट हस्तान्तरन गरिएको थियो ।

धनुषबान प्रतियोगितका बिजयिहरुमा पुरुष तर्फ :प्रथम श्री रेसवान राई,दोश्रो श्री कसिम राई,तेश्रो श्री दीवहाँङ राईमहिला तर्फ :प्रथम शुश्री सुनोना काम्बाङ,दोस्रो सकुन राई,तेस्रो कुसुम राई भएका थिए।

कि. रा. या. नेपालीकी पूर्व अध्यक्ष डा. सुममाया राईको प्रमुख आतिथ्यता तथा अर्का पूर्व अध्यक्ष यसोदा राईको विशेष उपस्थितीमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कल्पना राईले गरेकी थिइन् । त्यस्तै कार्यक्रम सन्चालन महासचिव नरेश काङमाङ राई र उपमाहसचिब किसन राईले गरेका थिए ।

संस्थाका उपाध्यक्ष मेजर योगेश राईको संयोजकत्वमा भएको सो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अतिथीहरु, पुर्खाहरु, बरिष्ठन संरक्षकहरु, तथा बोर्ड अफ डिरेक्टरहरुको पनि उपस्थिति रहेको थियो ।

आयोजक किरात राई यायोक्खा बेलायतले आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेनमा सो कार्यक्रम व्यापक रुपमा हरेक बर्ष मनाउदै आईरहेको छ।

उक्त कार्यक्रम लण्डन नेपाल न्यूजले प्रत्यक्ष रुपमा प्रशारण गरेको थियो, भने कार्यक्रम स्थल भव्य र रमणीय रुपमा सजाइएको थियो ।