लन्डन । बेलायतको नेपाली समुदायमा सबैभन्दा वृहत इभेन्ट मानिने गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको छ । भोली अर्थात शनिवार भव्य रुपमा सम्पन्न गर्न लागिएको गोर्खा कपको तयारी लगभग सकिएको आयोजकले जनाएको छ ।
कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण शनिवार अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा गरिदैँ छ । उक्त कार्यक्रमको तयारीबारे तमुधिं लण्डन इकाईले जानकारी लिँदै आर्थिक सहयोग गरेको छ । इकाईका अध्यक्ष बिष्णु गुरुङले कार्यक्रमको तयारीबारे जानकारी लिँदै १५०० सय पाउण्ड संस्थाको तर्फबाट तमुधिं यूकेलाई दिइएको जानकारी दिए ।
उक्त रकमले नेपाली वृहत इभेन्टलाई भव्य बनाउन सहयोग पुग्नेमा उनले विश्वासको व्यक्त गरे ।

लण्डन नेपाल न्यूजसँग बोल्दै तमुधिं लण्डन इकाईका उपाध्यक्ष भरत गुरुङले प्रतियोगिताको तयारी भव्य भएको प्रतिक्रिया दिदैँ अहिलेको यो कार्यक्रमले बेलायतका नेपालीहरुलाई दुई बर्ष देखि नपाएको राहत पाउने विश्वासको व्यक्त गरे ।
त्यस्तै तमुधिं लण्डन इकाईका पूर्व अध्यक्ष एवं सल्लाहकार सल्लाहकार डेविड गुरुङले नेपालीको सुखदुःख साटासाट गर्नेगरी आयोजना गरिएको यो इभेन्ट हालसम्मकै भव्य हुने विश्वास व्यक्त गरे । उनले बेलायतमा रहेका सबै नेपालीहरुलाई अनिवार्य उपस्थित हुन चुलैनिम्तो गर्दै नेपालीहरुवीच आपसी सद्भाव व्यक्त गर्ने अवसर रहेको धारणा राखे ।
उनले गोर्खा कपलाई सफल बनाउनको निम्ती तमुधिं लण्डन इकाईले भरिपूर्ण रुपमा सफल बनाउने गरी अभियान चलाएको बताए । बेलायतमा कोभिड संक्रमणदर फेरि बढिरहंदा आयोजकले स्थानीय रसमोर बरो काउन्सिल र सरोकारवाला सबै निकायको सल्लाह एवं कोभिड रिक्स एसेसमेन्टपछि इभेन्ट गर्न लागिएको बताउंदै जोखिम नभएको दावी गरेको छ ।
इभेन्टमा ७१ जनाको टिमले इभेन्ट सफल बनाउन काम गरिरहेको र मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरि कुल ४२ टिम सहभागी हुने छन् ।

प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् । ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजक तमुधिं यूकेले जनाएको छ ।
३५ हजार पाउण्ड बढी खर्च लाग्ने उक्त इभेन्टमा सुरक्षा, कोभिड प्रोटोकल, शौचालय, पार्किङ आदिको भरपुर व्यवस्था मिलाइएको तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले बताए । गोर्खा कपमा फुटबलबाहेक सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण गुरुङले जनाए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सरकारले पनि कोभिड नियम हटाएकाले गोर्खा कप भव्य हुने आशा व्यक्त गरे । उनले यस इभेन्टलाई तमुधिं यूकेको मात्र नभइ सबैको साझा मानेर कार्यक्रममा सहभागिता जनाइदिन अपिल पनि गरे ।
हजारौं सहभागी हुने गोर्खा कप युवा खेल प्रतिभाहरुलाई अवसर मात्र होइन्, बेलायतवासी नेपालीमाझ भेटघाट र सुःखदुःख सांट्ने मुख्य इभेन्ट पनि मानिन्छ । कोरोनाका कारण गत वर्ष इभेन्ट रोकिएकाले यो वर्ष धेरै सहभागी हुने विश्वास गरिएको छ ।
गत बर्ष कोभिडको कारण सञ्चालन हुन नसकेको यस इभेन्टलाई यसपटक विशेष बनाउने तरिकाले अघि बढेको आयोजकले दाबी गरेका छन् ।






