टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको यही जुलाईमा हुन चुनावमा वर्तमान कार्यसमितिका क्रियाशिल सदस्य कृष्णप्रसाद खनालले कोषाध्यक्ष पदमा चुनाव लड्ने तयारी गरेका छन् ।
एनआरएनए जापानमा आर्थिक पारदर्शिता तथा चुस्तदुरुस्त कोष सहित संस्थाको आर्थिक समृद्धि बढाउने उद्धेश्य राखेर कोषाध्यक्षमा चुनाव लड्न लागेको बताए । एनआरएनए अभियानमा लामो समयदेखि निरन्तर आवद्ध रहेका उनी जापानका एक सफल ब्यबसायी तथा समाजसेवीका रुपमा स्थापित छन् । खनालले एनआरएनए जापानका अग्रजहरु, अभियन्तहरु र जापान स्थित बिभिन्न नेतृत्व वर्गहरुको सल्लाहमा आफुले उम्मेदवारी दिन लागेको बताए ।
धादिङ् जिल्ला स्थायी घर भई विगत १ दशकदेखि जापानमा रहँदै आएका खनाल, धादिङ् समाज जापानको निवर्तमान अध्यक्ष पनि हुन् । २ कार्यकाल समाजको अध्यक्षता गरेका खनाल नेतृत्वमा अव्वल मानिन्छन् ।
उनी समाजको नेतृत्व गर्दा देखिको अनुभव तथा एनआरएनए जापानमा सल्लाहकार एवं सदस्य रहँदा संस्थागतरुपमा बटुलेका अनुभव तथा महशुस गरेको कमिकमजोरीहरु हटाउँदै सबल, सक्षम र पारदर्शी एनआरएनए बनाउने उर्जाको साथ कोषाध्यक्ष पदमा आउन लागेको बताए । कोषाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खनालले धेरै महत्वाकांक्षी योजनाहरु बनाएका छैनन् ।
‘अहिले मैले एनआरएनएको कोषाध्यक्ष पदमा उम्मेदवारी दिईरहँदा, सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीमा काँध थापेको महशुस भईरहेको छ । भर्खरै मात्रै छानबिन समितिले प्रस्तुत गरेको अनियमितता र वर्तमान समितिकै अध्यक्षद्वारा गरिएका अपारदर्शी आर्थिक गतिविधिहरुले संस्था चौतर्फीरुपमा आलोचित बनिरहेको छ’, उनले भने, यहि कठिन परिस्थितिमा संस्थाको लथालिंग आर्थिक व्यवस्थापनको जिम्मेवारी उठाउने काम मेरो लागि सजिलो त पक्कै छैन । तर मेरो नेतृत्वगत अनुभव र कार्यगत क्षमताका कारण असहजता भएता पनि बाटो भूल्दै गरेको एनआरएनए जापानको आर्थिक हिसाबकिताबलाई एउटा निश्चित ट्र्याकमा हिँडाउने प्रतिबद्धता गर्छु ।’
यस्ता छन् खनालले व्यक्त गरेका प्रतिवद्धता
१.एनआरएनए जापानको आर्थिक हर हिसाव चुस्तदुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराउने, साथै आर्थिक अनुगमन कमिटि बनाइ सुझाब ,सल्लाह लिएर अगाडी बढ्ने ।
२. खर्चको हिसाव देखाउने मात्र होईन,संस्थाको कोष अभिवृद्धि गर्ने रचनात्मक कामहरु विभिन्न राट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक प्रतिष्ठानहरुसंग सहकार्य गर्ने,क्लाउड फण्डिङ तथा विविध समय सान्दर्भिक कार्यक्रमहरुको आयोजना गर्ने ।
३. एनआरएनए जापानको आर्थिक हिसाब कितावको मासिक विवरण तयार पारी संस्थाको बैंक खाताको फोटोकपी ,बिल लगायतका अन्य आबश्यक कुरा हरु इमेल तथा संस्थाको होमपेज मार्फत सरोकारवालाहरु समक्ष हरेक महिना सार्वजनिक गर्ने ।
४. पूर्व कार्यसमितिले थालनी गरेको आपतकालिन् कोषको निरन्तरता साथै यसको संचालन तथा व्यवस्थापनको एउटा स्पष्ट निति बनाउँदै जापानवासी नेपालीहरुमा भईपरि आउने समस्या तथा जन्मभूमि नेपालका विभिन्न आवश्यकताहरुमा उपयोग गराउने।






